धरान । धरानबाट ३७ केजी गाँजा सहित दुई जना पक्राउ परेका छन् । यसरी पक्राउ पर्नेमा उदयपुरका २३ वर्षीय तीर्थ दर्जी र सुनसरीका ४० वर्षीय कृष्ण बिसुङ्खे रहेका छन् ।
शुक्रवार दिउसो १ बजे धरान उपमहानगरपालिका वडा नं ४ साराङ्ग चोक स्थित कोशी लोक मार्गमा गोप्य सूचनाको आधारमा इलाका प्रहरी कार्यालय धरानबाट प्रहरी नायब उपरीक्षक प्रकाश जवेगुको कमान्डमा खटिएको प्रहरी टोलीले धनकुटाबाट धरानतर्फ आउँदै गरेको ग २ च ८११७ नम्बरको कारलाई रोकेर चेकजाँच गरिएको थियो ।
चेकजाँच गर्दा कारको डिकी भित्र प्याष्टिकमा प्याक गरी लुकाई छिपाई ल्याउँदै गरेको ३७ केजी गाँजा बरामद गरिएको थियो ।
लागूऔषध सहित कार, चालक उदयपुरको बेलका नगरपालिका वडा नं ९ का दर्जी र सोही कारमा सवार सुनसरी वराहक्षेत्र नगरपालिका वडा नं १ का बिसुङ्खेलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
पक्राउ गरिएको २ जनालाई इलाका प्रहरी कार्यालय धरानमा ल्याई थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया