लोप हुँदै गएको ‘भैलो पर्व’ संरक्षणमा मुगाली

आइतबार, १४ पुस २०८१
मुगु । हिमाली जिल्ला मुगुलगायत जुम्ला ,कालिकोट, हुम्ला,डोल्पामा पर्वको रुपमा मनाइने ‘भैलो पर्व’ लोप हुने अवस्थामा पुगेको छ । नयाँ पुस्ताका स्थानीय पश्चिमी भेष भूषा रीतिरिवाजमा आकर्षित हुन थालेपछि भैलो लोप हुने अवस्थामा पुगेको हो । मुगमका मारोङ्ख ९ का चिमाथ, पापु, छाईल बस्तीमा स्थानीय हिन्दु धमालम्बीहरु मिलेर लोप हुन लागेको पर्व संरक्षणमा पनि जुटेका छन् । सशस्त्र माओवादी १० वर्षको जनयुद्ध हुँदा थलापरेका धार्मिक तथा सांस्कृतिक रीतिरिवाज चाडपर्वहरू लोप हुनबाट जोगाउने तयारी पनि भइरहेको छ । भैलो प्रत्येक वर्ष तीन फरक फरक तिथि, मितिमा खेलिन्छ । पहिलो देउसी भैलो कार्तिक कृष्ण पक्ष अर्थात् गाई तिहारको दिनबाट खेलिन्छ । दोस्रो भैलो कर्णाली खसान क्षेत्रमा मङ्सिरे पूर्णिमाका दिन खेलिन्छ । जसलाई सानो भैली भन्ने चलन छ । अर्को भैलो कर्णाली खसान क्षेत्र र सुदूरपश्चिम खसानका केही क्षेत्रमा पुस महिनाको औँसीदेखि पूर्णिमासम्म खेलिन्छ । जसलाई पुसे भैलो अर्थात् ठुली भैलो भनिन्छ । १६ वर्षमुनिकाले खेल्ने भैलीलाई सानी भैली र बुढापाकाहरूले खेलिने ठुली भैलीलाई छाँट भैली भन्ने गरिन्छ । महिलाहरूले फरिया लगाउने, आँचल हाल्ने, लट्ठी हातमा लिएर लामो लयमा मागल गाएजस्तो गरी गाउने गर्छन् । पुरुषहरूले छोटो तरिकाले भैलो गाउने चलन छ । मङ्सिर पूर्णिमा र पुसे औँसी सम्म खेलिएको भैलोबाट उठेको चामल, पैसा, खानेकुरा आदि जम्मा गरेर त्यसको एक-दुई दिनपछि नजिकैको चउर वा सार्वजनिक जग्गामा गएर सामूहिक भोज आयोजना गरिन्छ । जसलाई पाठे भात भनिन्छ । पुसे भैलोको बेला विवाह गरेर गएकी छोरीलाई माइतीमा बोलाएर आफन्तहरू भेटघाट गर्ने विभिन्न परिकारका खाना खाने, सबै गाउँघरमा मानिसहरू एक ठाउँमा जम्मा भएर नाचगान गरिएको स्थानीय धनकृष्ण बडूवालले बताए । मुगुको पूर्वी भेगमा रहेको मुगमका मारोङ्ख गाँउपालीकामा रहेको १ देखी ८ वडामा सबै बस्तीहरूमा लामा अर्थात् जनजातिहरूको बाहुल्यता रहेको र ९ वडामा हिन्दु धमालम्बीहरु बस्ने भएकाले अन्य धर्मको गतिविधिहरू बढी हुने र हिन्दुहरूका पर्व चाडपर्वहरू संस्कृति हराउँदै गएकाले संरक्षण गर्न लागिएको वडाध्यक्ष रतन बहादुर बुढाले बताए । नेपालमा जुम्लाका कल्यालवंशी १४औँ शताब्दीको अन्त्यतिर सन् १३९८ आसपासका बलिराज रावल (शाही ) र अर्का बली अर्थात् बलिहाङ पाल्पा बल्ढेङगढी क्षेत्रका मगर राजा थिए ।

प्रतिक्रिया

नेपाल न्युज बैंक
लेखकको बारेमा
नेपाल न्युज बैंक

नेपाल न्युज बैंक समाचार एजेन्सी हो ।

सम्बन्धित समाचार