जागिर पाएकै दिन अफिसबाट कफी चोरेपछि कर्मचारी बर्खास्त

बुधबार, १९ कार्तिक २०८२

एजेन्सी । नयाँ कर्मचारी जागिरको पहिलो दिन नै अनौठो कारणले गर्दा निकालिएको रोचक घटनाका बारेमा रेडिटका एक प्रयोगकर्ताले खुलासा गरेका छन् ।

ती प्रयोगकर्ताका अनुसार, ती कर्मचारीले सबै कफी चोरेकाले गर्दा म्यानेजरहरूले उनलाई निकालिदिएका थिए । घटनासम्बन्धी पोस्ट रेडिट प्लेटफर्ममा भाइरल भयो । त्यसले ४३ लाखभन्दा बढी भ्युज र १५ हजारभन्दा बढी अपभोट्स पायो । सामाजिक सञ्जाल प्रयोगकर्ताहरूले यसलाई अनौठो र रोचक घटना भनी वर्णन गरे ।

‘हामीले एक महिलालाई काममा राख्यौं । उनी बिहान प्रशिक्षणको क्रममा अलि तनावग्रस्त देखिएकी थिइन् । तर, काम त्यति गाह्रो थिएन,’ प्रयोगकर्ताले लेखे ।

‘दिनको छिप्पिँदै जाँदा हामी सबै ब्रेकरूममा थियौं । ती कर्मचारीले कफीमेकरको छेउमा रहेका स्टारबक्स कफीका दुई ठूला ब्याग देखाउँदै यी कसका हुन् भनी सोधिन् । अनि कसैले उनलाई भन्यो, ‘यी सबैका लागि निःशुल्क राखिएका हुन् । कम्पनीले सबैका लागि कफी किनिदिन्छ ।’ उनले भनिन्, ‘ओ, कूल ।’

कार्यालय समय सकिएर घर फर्किँदै गर्दा ती कर्मचारीले दुवै ब्याग आफ्नो लगिन् । त्यसपछि अफिसभरि हल्लाखल्ला भयो । कफी कहाँ गयो भनी सबैजना आश्चर्यमा परे ।

‘पछि कुरा बुझ्दै जाँदा ती नयाँ कर्मचारीले नै बोरा लगेको पत्ता लाग्यो । शायद कसैले उनलाई देखेको पनि थियो । उनी भोलिपल्ट अफिस आउँदा म्यानेजरले बोलाइन् र ठाउँको ठाउँ निकालिदिइन्,’ रेडिट प्रयोगकर्ताले लेखे ।

यस घटनाले व्यावसायिकता र अफिसमा गरिने व्यवहारबारे ठूलो बहस सुरु ग‍रिदियो । सयौं प्रयोगकर्ताहरूले यसमा टिप्पणी गरे । ‘यस्तो सोच भएका मानिसहरू कसरी काम गर्छन् होला भन्ने लाग्छ । अनौठो र रोचक,’ एक प्रयोगकर्ताले लेखे ।

अर्काले लेखे, ‘सबैसँग अन्तरात्माको आवाज हुँदैन । अर्थात्, केही मानिसको दिमागमा दिनभर खासै सोचविचार चल्दैन । निर्णय लिनुअघि आफैंसँग तर्क गर्दैनन्, मशिन जस्तो एकोहोरो काम गर्छन् । मलाई यो कुरा डरलाग्दो र रोचक लाग्छ ।’

तेस्रोले भने, ‘कोही त्यति मूर्ख कसरी हुन सक्छ ? राम्रो कुरा के भने ती कर्मचारी ठूलो गल्ती गर्नुअघि नै अफिसबाट निस्किइन् ।’

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार