रौतहट–१ मा आम जनता पार्टीका अध्यक्ष प्रभु साहको एकल नाम सिफारिस

बुधबार, ०९ पुस २०८२

रौतहट । आम जनता पार्टीले आगामी फागुन २१ गते हुने निर्वाचनलाई लक्षित गर्दै रौतहट निर्वाचन क्षेत्र नम्बर–१ बाट केन्द्रीय अध्यक्ष तथा पूर्व मन्त्री प्रभु साहलाई उम्मेदवारका रूपमा एकल नाम सिफारिस गरेको छ। मंगलबार सम्पन्न क्षेत्रीय बैठकले साहको नाम सर्वसम्मत रूपमा सिफारिस गर्ने निर्णय गरेको हो।

बैठक रौतहट निर्वाचन क्षेत्र नम्बर–१ का क्षेत्रीय अध्यक्ष अमित साहको अध्यक्षतामा सम्पन्न भएको थियो। पार्टीका केन्द्रीय तथा स्थानीय तहमा भएका व्यापक छलफल, सुझाव र मूल्याङ्कनपछि साहलाई उम्मेदवारका रूपमा अघि सारिएको आम जनता पार्टीले जनाएको छ।

जनताको हक–अधिकार, सामाजिक न्याय, सुशासन र समावेशी विकासको पक्षमा निरन्तर सक्रिय तथा जनसमस्यासँग प्रत्यक्ष रूपमा जोडिएको नेतृत्व भएकाले साहको नाम एकल रूपमा सिफारिश गरिएको पार्टीको भनाइ छ। पार्टीका अनुसार साहको उम्मेदवारीले रौतहट–१ मा नयाँ राजनीतिक विश्वास निर्माण गर्दै परिवर्तनको आधार तयार गर्ने अपेक्षा गरिएको छ।

आम जनता पार्टीले यस क्षेत्रलाई परिवर्तनको केन्द्र बनाउने लक्ष्यसहित भ्रष्टाचारविरुद्ध शून्य सहनशीलता, रोजगारी सिर्जना, शिक्षा तथा स्वास्थ्य सेवाको सुधार, साथै किसान, मजदुर र युवाको पक्षमा सशक्त आवाज उठाउने प्रतिबद्धता जनाएको छ।

आगामी दिनमा जनतासँग प्रत्यक्ष संवाद, संगठन विस्तार र जनमुखी एजेन्डाका साथ निर्वाचन अभियानलाई थप तीव्र बनाइने पार्टीका सचिवालय सदस्य रामशरण यादवले जानकारी दिए। यसैबीच, सोमवार आम जनता पार्टीले रौतहट निर्वाचन क्षेत्र नम्बर–४ बाट ऋषि धमलाको नाम पनि उम्मेदवारका रूपमा एकल सिफारिश गरेको छ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार