इलाम । गत असोज १८ गतेको विनाशकारी बाढीपछि ‘विपत् सङ्कटग्रस्त क्षेत्र’ घोषित इलामका सडक तथा पुल पुनर्निर्माणका लागि सङ्घीय सरकारको अर्थ मन्त्रालयले २ अर्ब १९ करोड रुपैयाँ बराबरको स्रोत सुनिश्चित गरेको छ। सो रकमबाट जिल्लामा बाढीले क्षति पुर्याएका भौतिक पूर्वाधारको पुनर्निर्माण तथा मर्मतमा सहयोग पुग्ने अपेक्षा गरिएको छ।
सरकारी तथ्याङ्कअनुसार सो बिपत्बाट इलाममा करिब १२ अर्ब रुपैयाँ बराबरको क्षति भएको थियो। सामान्य मर्मतका लागि यसअघि पालिकाहरूमा ५ करोड ३३ लाख रुपैयाँ मात्र आएको थियो। त्यसपछिको काम अघि नबढेपछि जिल्लाका विभिन्न संघ–संस्था निरन्तर दबाब तथा आन्दोलनमा उत्रिएका थिए। हाल रकम सुनिश्चित भएको जानकारी पाएसँगै जिल्लावासीमा केही राहतको अनुभूति र आशा थपिएको छ।
अर्थ मन्त्रालयले मेची राजमार्गका लागि डेढ अर्ब रुपैयाँ बराबरको बजेट सहमति गरेको छ। सोही राजमार्गअन्तर्गत राज–दुवाली पुल निर्माणका लागि २० करोड, केचना–कञ्चनजङ्घा सडक मर्मतका लागि १४ करोड, र उक्त खोलामा भासिएको अर्को पुल मर्मतका लागि २५ करोड रुपैयाँको स्रोत सुनिश्चित गरिएको छ। त्यस्तै पुवा खोलाको पुल तथा जोगमाई खोलामा आवश्यक पुनर्निर्माण तथा संरचना उन्नतिका लागि करिब ५ करोड ५० लाख रुपैयाँ विनियोजन सहमति गरिएको छ।
गत वर्ष मात्र निर्माण गरिएका दुई बेलीब्रिज बाढीले बगाएपछि यातायात सञ्चालनमा थप कठिनाइ आएको थियो। अब ती दुवै बेलीब्रिज तथा मेची कोरिडोरअन्तर्गत पुवा खोलामा, सिमलगोलाई माईबेनी हुँदै तिल्केनी जोड्ने मार्गस्थित जोगमाई खोलामा नयाँ बेलिब्रिज निर्माण कार्य सुरु गरिने भएको छ। यस्तै बेलासेमा रहेको माई खोलाको पुल पनि उठाइने जनाइएको छ, जुन पुल असोजको बाढीले भासिएको थियो।
अर्थ मन्त्रालयले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयलाई रकम स्वीकृतिका लागि सहमति दिएसँगै पूर्वघोषित विरोध तथा दबाब कार्यक्रमहरू स्थगित भएका छन्। सडक डिभिजन कार्यालय इलाममार्फत चालु आर्थिक वर्षको ठेक्का प्रक्रिया र बहुवर्षीय ठेक्का एकैसाथ अघि बढाइने सडक डिभिजनका डिभिजन प्रमुख पवन भट्टराईले बताए।
प्रतिक्रिया