विराटनगर । मोरङ उद्योग व्यापार संघले आयोजना गर्ने अन्तर्राष्ट्रियस्तरको विराट ट्रेड एक्स्पो–२०२५ आज (बुधबार)बाट सुरु हुँदैछ ।
विराटनगरको आर्थिक र व्यावसायिक साख फर्काउने उद्देश्यका साथ विराटनगर महानगरपालिका–१ शान्ति चोकमा एक्स्पो आयोजना हुने छ । एक्स्पो पुस १९ गतेसम्म सञ्चालन हुनेछ । मोरङ उद्योग व्यापार संघका अध्यक्ष अनुपम राठीका अनुसार एक्स्पोमा जर्मन प्रविधिबाट निर्मित आकर्षक ह्याङ्गर संरचनाभित्र २ सय ३० वटा स्टलहरू रहने छन् ।
मेलामा नेपालका घरेलु, साना, मझौला तथा ठूला उद्योगका उत्पादनहरूका साथै कृषिजन्य वस्तु, औद्योगिक सामग्री, शिक्षा, स्वास्थ्य, सूचना प्रविधि, पर्यटन र सेवा क्षेत्रसँग सम्बन्धित सामग्रीहरू प्रदर्शनीमा राखिनेछन् । छिमेकी मुलुक भारत, बंगलादेश र पाकिस्तानमा उत्पादन भएका बस्तु पनि प्रदर्शनीमा राखिनेछ ।
अवलोकनकर्ताको आकर्षणका लागि मेला स्थलमा किड्स जोन, सेल्फी जोन र विशेष आकर्षणका रूपमा फिस तथा जलपरी टनेल निर्माण गरिएको छ । विभिन्न मनोरञ्जनात्मक खेलसामग्री पनि राखिनेछ ।
मेलाको अनुमानित लागत २ करोड ५० लाख रुपैयाँ छ । २ लाखभन्दा बढी दर्शकले प्रत्यक्ष अवलोकन गर्ने अनुमान आयोजकको छ । एक्स्पो अवधिभर २० देखि ३० करोड रुपैयाँ बराबरको आर्थिक कारोबार हुने लक्ष्य राखिएको जानकारी राठीले दिए ।
प्रतिक्रिया