आफ्नै पसलमा आगो लगाएर बिमा दाबी गर्ने पक्राउ

सोमबार, २६ फागुन २०८१
पोखरा : कास्कीको पोखरा महानगरपालिका-८, न्युरोडस्थित शर्मा आईटी हबमा भएको आगलागीमा संलग्न रहेको आरोपमा प्रहरीले पसलका सञ्चालक रमेश शर्मा लोहारलाई पक्राउ गरेको छ। पर्साको जगरनाथपुरका लोहारलाई आइतबार पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी नायब उपरीक्षक वसन्तकुमार शर्माले जानकारी दिए। प्रहरीका अनुसार, लोहारले पसलको एक करोड रुपैयाँ बराबरको बिमा गराएका थिए र बिमा रकम लिन उनले नै आगलागी गराएको अनुसन्धानबाट खुलेको छ। फागुन १६ गते साँझ ७ बजे भएको आगलागी करिब ४५ मिनेटमा नियन्त्रणमा आएको थियो। शिखर इन्स्योरेन्स कम्पनीमा बिमा गरिएकाले लोहारले क्षतिपूर्ति दाबी गरेका थिए। अनुसन्धानका क्रममा पसल दुई दिनअघिदेखि बन्द रहेको र कामदारहरू बिदामा रहेकाले शंका उत्पन्न भएको थियो। अनुसन्धान अघि बढाउँदै जाँदा लोहारकै संलग्नता रहेको प्रमाण भेटिएको प्रहरीले जनाएको छ। अदालतबाट सात दिनको म्याद थप गराई उनलाई आपराधिक उपद्रवसम्बन्धी कसूरमा अनुसन्धान थालिएको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार