इलाम : इलाम साहित्य महोत्सवको चौथो संस्करण आगामी चैत्र १ गतेदेखि सुरू हुने भएको छ।
'पर्यटनका लागि साहित्य' भन्ने नाराका साथ हुने यस महोत्सवको आयोजना इलाम साहित्य समाज र इलाम नगर साहित्य कला प्रतिष्ठानले गरेको हो।
महोत्सव नेपाल प्रज्ञा प्रतिष्ठानको सहकार्यमा आयोजना गरिने जानकारी इलाम नगर साहित्य कला प्रतिष्ठानका अध्यक्ष प्रकाश थाम्सुहाङले दिएका छन्।
महोत्सवको मुख्य उद्देश्य इलामको साहित्य र पर्यटनलाई प्रोत्साहन गर्नु र इलामको साहित्यलाई देश विदेशमा चिनाउनु रहेको छ। यस महोत्सवमा नेपाल, भारत, बंगलादेशलगायत विभिन्न देशका प्रसिद्ध साहित्यकारहरूको उपस्थिति रहनेछ।
इलाम साहित्य समाजका सचिव रोशन राईले भने, "साहित्यिक क्षेत्रमा अग्रपङ्तिमा रहेको इलाम पछिल्लो समय खस्कँदै गएको छ, र यसको पुनःजागरणका लागि चौथो संस्करणको महोत्सव आयोजना गरिन लागेको हो।"
इलाम साहित्य महोत्सवको पहिलो संस्करण २०७६ सालमा आयोजित गरिएको थियो। यस महोत्सवमा विभिन्न देशका साहित्यकार, उपन्यासकार, नेपाली सिने जगतका चर्चित कलाकारहरू, र चर्चित राजनेताहरू पनि सहभागी हुनेछन्। महोत्सवमा विभिन्न विषयमा छलफल र बहस हुने बताइएको छ।
महोत्सवको कुल खर्च अनुमानित २२ लाख रुपैयाँ ५० हजार रहेको छ, र यस महोत्सवको माध्यमबाट इलामको पर्यटन क्षेत्रमा प्रत्यक्ष फाइदा पुग्ने विश्वास आयोजकहरूले व्यक्त गरेका छन्।
महोत्सवमा कविता, गजल बाचनका साथै पर्यटन र राजनीति सम्बन्धी बहस पनि हुनेछ। विशेष गरी, इलामको साहित्य, पर्यटकीय स्थल र रैथाने खाना परिकारको विषयमा पनि चर्चा हुनेछ।
इलाममा जन्मेका तर बाहिर रहेका लेखक, साहित्यकार, रंगकर्मी र देश-विदेशका चर्चित साहित्यकार र कलाकारहरूको उपस्थिती रहने छ।
प्रतिक्रिया