झापामा पूर्ण अपाङ्गता भएकालाई घरमै नागरिकता

शनिबार, ०९ चैत्र २०८१
झापा : पूर्ण अपाङ्गता भएका मेचीनगर नगरपालिका–३ का २१ वर्षीय क्षितिज राईले शुक्रवार घरमै नागरिकताको प्रमाणपत्र प्राप्त गर्नुभयो । जिल्ला प्रशासन कार्यालयले पूर्ण अपाङ्गता भएका व्यक्तिको घरमै पुगेर नागरिकता बनाइदिने अभियान सञ्चालन गरेसँगै क्षितिजले नागरिकताको प्रमाणपत्र प्राप्त गर्नुभएको हो । सहायक प्रमुख जिल्ला अधिकारी विश्वराज नेपाल स्थानीय जनप्रतिनिधिसहित नागरिकता प्रदान गर्न घर पुग्दा क्षितिज राई बाँसको मुढामा बसिरहनु भएको थियो । एक स्थानबाट अर्को स्थानमा बोकेर सार्नुपर्ने अवस्थाका उहाँका बुवा र आमा घरमा नहुँदा सनाखत गर्न नसकेर नागरिकता प्रमाणपत्र बन्न सकेको थिएन । विसं २०६० मा मेचीनगर–३ दोकान डाँडामा जन्मनु भएका उहाँ अपाङ्ग भएको थाहा पाएका दिनदेखि बुबा घरबाटै बेपत्ता भएको र आमा वैदेशिक रोजगारीबाट लामो समयदेखि नफर्किएको क्षितिजका छिमेकी शिक्षक देबु बानियाँले बताउनुभयो । उहाँको नागरिकता बनाउन विगत पाँच वर्षदेखि पहल भइरहेको थियो । “आमा विदेशमा र बाबु बेपत्ता भएपछि मावली हजुरबुवा र हजुरआमाले क्षितिजको हेरचाह गर्दै आउनुभएको थियो,” नागरिकताका लागि पहल गर्नुभएका शिक्षक बानियाँ भन्नुहुन्छ, “हजुरआमाको पनि निधन भएपछि वृद्धावस्थाका हजुरबुबाले कनीकुथी हेरचाह गरिरहनु भएको छ ।” ढिलै भए पनि नागरिकता बनेको मेचीनगर नगरपालिकाकी उपप्रमुख मीना उप्रेती बताउनुहुन्छ । नागरिकताको आधारमा अब क्षितिजले सरकारबाट मासिक सामाजिक सुरक्षा भत्ता पाउने हुनुभएको छ । क्षितिजलाई बिहानदेखि बेलुका सम्म बाँसको मुढामा राख्ने गरिएको छ । उहाँलाई खानासमेत हजुरबुवा कुमार सुब्बाले मुढामै राखेर खुवाउने गर्नुभएको छ । “नागरिकता उहाँको नैसर्गिक अधिकार हो,” सहायक प्रतिअ नेपालले भन्नुभयो, “प्रशासनसम्म आउन नसक्ने सही व्यक्तिको पहिचान गरी स्थानीय जनप्रतिनिधिको सहयोगमा आवश्यक प्रक्रिया पूरा गरी घरमै नागरिकता पु¥याएका हौँ ।” चालु आर्थिक वर्षमा जिल्लाका चार जना पूर्ण अपाङ्गता भएका व्यक्तिको घरमै पुगेर नागरिकता प्रदान गरिएको सहायक प्रतिअ नेपालले बताउनुभयो । यसरी घरमै नागरिकता प्रमाणपत्र पाउने अरू तीन जना बुद्ध शान्ति गाउँपालिका–४ र ५ का छन् । बुद्ध शान्ति गाउँपालिका–५ का वडाध्यक्ष डेगेन्द्र कार्कीले पूर्ण अपाङ्गता भएका २२ वर्षीय सौरभ चापागाईँको आफैँले पहल गरेर नागरिकता बनाइदिएको बताउनुभयो ।

प्रतिक्रिया

रासस
लेखकको बारेमा
रासस

राष्ट्रिय समाचार समिति (रासस) नेपालको सबैभन्दा पुरानो र देशव्यापी रूपमा रहेको समाचार समिति हो।

सम्बन्धित समाचार