४३६ प्रहरी चौकी पुनर्स्थापित: इलाका प्रहरी कार्यालय इटहरी नयाँ भवनमा फर्किँदै

शुक्रबार, १४ कार्तिक २०८२

काठमाडौँ : नागरिकसँग नजिक हुन नेपाल प्रहरीले चलाएको अभियान हो– प्रहरी मेरो साथी । तत्कालीन सरकारको आर्थिक वर्ष २०७२/७३ को नीति तथा कार्यक्रममा समावेश गरेर यो अभियान सुरु गरेको थियो ।

जसको अवधारणा मुलुकमा शान्ति सुरक्षा कायम गर्न नागरिकको समेत साथ लिने हो । यो अभियान कति सफल भयो वा भएन भन्ने विषय समय र घटनाअनुसार फरक कोणबाट व्याख्या हुन सक्छ । तर जेनजी आन्दोलनका क्रममा तिनै प्रहरीका बिट जले ।

गत भदौ २३ र २४ गते जेनजीको प्रदर्शन भएको थियो । २३ गते काठमाडौँ केन्द्रित प्रदर्शनका क्रममा प्रहरीकै गोली लागेर २० जनाको ज्यान गयो ।

स्कुलबाट प्रदर्शनमा आएका विद्यार्थीले समेत गोली लागेर मृत्युवरण गर्नुपरेपछि २४ गतेको प्रदर्शन थप उग्र बन्न पुग्यो ।

परिणाममा नेपाल प्रहरीका ४ सय ६५ कार्यालयमा क्षति हुन पुग्यो । जेनजी आन्दोलन भएको ५३ दिन पार हुँदासम्म ४ सय ३६ वटा प्रहरी कार्यालय पुनर्स्थापना भएका छन् । विभिन्न २८ वटा कार्यालय पुनर्स्थापनाको प्रक्रियामा छ । एउटा कार्यालयको विषयमा भने प्रहरी मौन बसेको छ । 

१ सय १८ वटा प्रहरीका संरचनामा पूर्णरूपमा नष्ट भएका थिए । ३ सय ४७ वटा कार्यालयमा आंशिक क्षति पुगेको थियो । काठमाडौँ उपत्यकामा मात्रै २ सय १० वटा संरचनामा क्षति पुगेको थियो । 

प्रदेशगत रूपमा हेर्दा सबैभन्दा बढी मधेशमा ९०, कोशी प्रदेशमा ५७, बागमतीमा ४५, गण्डकीमा ३३, लुम्बिनीमा १४ र सुदूरपश्चिममा १६ वटा प्रहरी कार्यालयमा क्षति पुगेको थियो । सबै प्रदेशका गरेर ४ सय ३६ वटा कार्यालय पुनर्स्थापना भएका हुन् । 

प्रहरी अधिकारीहरूका अनुसार क्षतिग्रस्त प्रहरी कार्यालयको पुनर्स्थापना गर्न सरकारले राज्यकोषबाट कुनै रकम खर्च गरेको छैन ।

कारण– नागरिक समाज, सङ्घसंस्था र स्थानीय नै प्रहरी बिट पुनर्स्थापनाको कार्यमा जुटे । प्रहरीको मनोबल बढाउन र मुलुकमा शान्ति सुरक्षाको प्रत्याभूति दिलाउन नागरिकहरू आफैँ अग्रसर हुँदा ठुलो सङ्ख्यामा क्षतिग्रस्त प्रहरी संरचना पुनर्स्थापित हुन सकेको हो । 

नेपाल प्रहरीका प्रवक्ता विनोद घिमिरे नागरिक समाज, स्थानीय बासिन्दा र  विभिन्न संघसंस्थालगायतको भूमिकाको प्रशंसा गर्छन् ।

एउटा टेलिभिजनसँग उनले भनेका छन्, ‘प्रहरी बिट पुनर्स्थापना गर्नमा नागरिक समाजबाट जुन किसिमको सम्मान र वेलकम भएको छ त्यसले प्रहरीको मनोबल बढाएको छ ।’ 

प्रहरी अधिकारी प्रहरी बिट पुनर्स्थापनाको कार्यमा भएको नागरिक सहभागिता र सहकार्यले दुवैका बिचमा विश्वासको वातावरण थप बलियो बनाउनसमेत मद्दत पुगेको बताउँछन् ।

सहकार्यले एकातिर नागरिक र प्रहरीबिच विश्वासको वातावरण थप बलियो बनाएको छ भने अर्कोतिर प्रहरीको मनोबल बढाउन सकेको छ ।

इलाका प्रहरी कार्यालय इटहरी नयाँ भवनमा सर्न तयार, सोमबारदेखि पूर्ण सञ्चालन

 जेनजी आन्दोलनका क्रममा आगजनीमा परेर क्षतिग्रस्त बनेको इलाका प्रहरी कार्यालय इटहरी नयाँ भवनमा स्थानान्तरण भई आगामी सोमबारदेखि पूर्ण रूपमा सेवा सञ्चालनमा आउने भएको छ।

डेढ महिनादेखि अस्थायी रूपमा प्रहरी चौकी तरहराबाट सेवा दिँदै आएको इटहरी इलाका प्रहरी कार्यालय अब इटहरी–९ स्थित रङ्गशाला पछाडिको जीवन विज्ञानले सञ्चालनमा ल्याएको भवनमा सारिने डिएसपी सुवास हमालले जानकारी दिएका छन्।

उनका अनुसार थुनुवा कक्ष निर्माण लगायत अन्तिम तयारी धमाधम भइरहेका छन्। “अब तीन दिनभित्र सम्पूर्ण काम सकिन्छ, सोमबारदेखि कार्यालय पूर्ण रूपमा सञ्चालनमा आउनेछ,” डिएसपी हमालले भने।

इटहरी इलाका प्रहरी कार्यालयमा दरबन्दी १६१ भए पनि अहिले १७१ जना सुरक्षाकर्मी तैनाथ रहेको छ। इटहरी उपमहानगरपालिका–६ स्थित पुरानो प्रहरी कार्यालय जेनजी आन्दोलनका क्रममा आगजनीबाट क्षतिग्रस्त भएपछि प्रहरीहरू अस्थायी रूपमा तरहरा सारिएका थिए।

 डिएसपी सुवास हमालले बताएअनुसार, नयाँ ठाउँमा थुनुवा कक्ष निर्माणको अन्तिम चरणमा छ।

"अहिले नै सामान्य छलफल र प्रशासनिक कामहरू सुरु भइसकेका छन्। तीन दिनभित्रै सबै तयारी पूरा भएर सोमबारदेखि पूर्ण सञ्चालनमा आउनेछ," उनले भने।

 

प्रतिक्रिया

पत्रपत्रिकाबाट
लेखकको बारेमा
पत्रपत्रिकाबाट

सम्बन्धित समाचार