सिरहामा जातीय विभेदको घटनाः पीडित परिवारबाट प्रहरीमा जाहेरी

शनिबार, ०९ चैत्र २०८१
सिरहा : सिरहाको औरही गाउँपालिका-५ मा महायज्ञका नाममा जातीय विभेद गरिएको घटनाका घटनाका पीडित परिवारले प्रहरीमा जाहेरी दिएका छन् । जिल्ला प्रहरी कार्यालयका प्रमुख तथा प्रहरी उपरीक्षक रमेश पण्डितले पीडित परिवारका तर्फबाट जाहेरी प्राप्त भएको जानकारी दिए । दलित अगुवासहित पुगेर पीडित परिवारका दिपक मरिकले जातीय भेदभाव तथा छुवाछूतसम्बन्धी कसुरको जाहेरीमा गाउँपालिका अध्यक्ष शिवजी यादव, पूर्व वडाध्यक्ष दिलीप यादव र बजरङ्गी बाबालाई प्रतिवादी बनाइएको छ । औरहीका स्थानीयसमेत रहेका राष्ट्रिय दलित आयोगका पूर्व सदस्य कबुली पासवानका अनुसार जाहेरीमा प्रतिवादीहरूले पीडित परिवारमाथि जातीय छुवाछूत गरेको, घर तोडफोड गरी विस्थापित गरेकाले दोषीलाई कारबाही र पीडितलाई क्षतिपूर्ति दिइनुपर्ने माग गरिएको छ । घटनामा संलग्न भएको आरोपमा गाउँपालिका अध्यक्ष र पूर्व वडाध्यक्षलाई शुक्रवार नै प्रहरीले पक्राउ गरिसकेको छ । बजरङ्गी बाबा भने फरार रहेकाले खोजी भइरहेको प्रहरी उपरीक्षक पण्डितले बताए । यही चैत १७ देखि आयोजना हुने भनिएको महायज्ञका नाममा गत फागुन १० गते अछुत भन्दै महायज्ञ स्थलमा रहेको मल्लिकको घर भत्काइएको थियो । गाउँपालिका अध्यक्ष, पूर्व वडाध्यक्ष र बजरङ्गी बाबाले डोजर लगाएर भत्काइदिएको भनेर घटना सार्वजनिक भएको थियो । घर भत्काउन गाउँपालिकाको जेसीबीसहित अध्यक्ष यादव आफैँ खटिएका, घर भत्काएपछि उक्त घरले चर्चेको जमिनको माटोसमेत ताछेर फालेपछि जातीय विभेद गरेको भन्दै विरोध भइरहेको छ । घटनामा संवेदनशील नभएको भन्दै गृह मन्त्रालयले सिराहाका प्रमुख जिल्ला अधिकारी वासुदेव दाहाललाई शुक्रवार मन्त्रालय तानिसकेको छ । त्यसै गरी राष्ट्रिय मानवअधिकार आयोग तथा राष्ट्रिय दलित आयोगले समेत घटनालाई महत्त्व दिएर स्थलगत अनुगमन गरेर अनुसन्धान अगाडि बढाएका छन् ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार