रौतहट । नेपालको रौतहट, बारा पर्सासँग सिमाना जोडिएको भारत बिहार पूर्वी चम्पारण जिल्लाको सदरमुकाम मोतीहारी प्रहरीले नेपाली रुपैयाँ अढाई करोड मूल्य बराबरको लागुऔषध स्मैक बरामद गरेको छ।
बिहारमा मदिरा उत्पादन बिक्री वितरण तथा सेवन माथि सरकारले पूर्ण रूपमा प्रतिबन्ध लगाएपछि पूर्वी चंपारण जिल्लामा लागु औषधको कारोबार बढेसँगै नियन्त्रणको लागि प्रहरीले सक्रियता देखाएको हो।
स्थानीय नकरदेई थाना क्षेत्र अन्तर्गत सोमवार प्रहरीले ७ किलो भन्दा बढी लागुऔषध स्मैक बरामद गरेको हो, जसको अन्तर्राष्ट्रिय बजारमा लगभग नेपाली अढाई करोड रुपैयाँ मूल्य भएको मोतीहारी जिल्ला प्रहरी प्रमुख एसपी सुवर्ण प्रभातले बताएका छन्।
आईपिएस अफिसर एसपी प्रभातले स्मैक तस्करीमा संलग्न चार जना तस्करको पहिचान भएको दाबी गरेका छन्। ती तस्करको खोजी भइरहेको बताएका छन्। बरामद लागूऔषध स्मैक नेपालको बाटो हुँदै भारतमा ल्याएको प्रहरीको भनाई छ।
प्राप्त जानकारी अनुसार नकरदेई प्रहरीले ठुलो परिमाणको लागुऔषध आइरहेको सूचनाको आधारमा प्रहरी दंडाधिकारी सह अदापुर अंचलाधिकारी अनामिका सिंहको उपस्थितिमा सर्च अभियान चलाएको थियो ।
सर्च अभियानको क्रममा सिरिसिया माल गांवस्थित एक जना ड्रग माफियाको ठेगानामा छापामार गरिएको थियो। सो क्रममा गाउँ छेउ एउटा खाल्डोमा बोराभित्र राखिएको लागुऔषध स्मैक बरामद गरिएको हो।
सानो सानो प्लास्टिकको पुड़ियामा राखिएको थियो। जाँच गर्दा लागुऔषध स्मैक रहेको तथा त्यसको तौल साढे सात किलोग्राम रहेको र थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मोतीहारीले जनाएको छ। तस्करहरू भने फरार भएको प्रहरीले जनाएको छ।
पछिल्लो समय बिहारमा लागु औषधको कारोबार बढ्दै गएको देखिएको छ। बिहारमा मदिराजन्य पदार्थ उत्पादन,बिक्री वितरण, सेवन माथि प्रतिबन्ध लगाइए पछि लागु औषधको कारोबार बढेको जानकारहरूको अनुमान रहेको छ। मुख्यमन्त्री नीतीश कुमारको सरकारले बिहारमा सन २०१६ देखी मदिरा प्रतिबन्ध लगाउने कानुन लागू भएको थियो।
मोतीहारी जिल्लामा प्रहरी प्रमुखको रूपमा आईपीएस अफिसर एसपी सुवर्ण प्रभातले कमाण्ड सम्हाले देखी गैर कानुनी क्रियाकलाप माथि प्रहरीले अङ्कुश लगाएको छ। खुला सिमानाको फाइदा उठाउँदै लागुऔषध, गाँजा, अफिम, चरेस, स्मैक, मदिरा लगायतका सामान तस्करहरूले भित्रयाउने गरेका छन् ।
प्रतिक्रिया