मोबाइल चिया व्यवसायबाट आत्मनिर्भर बन्दै झापा अर्जुनधाराकी मिना

आइतबार, ११ जेठ २०८२

झापा : "काम सानो–ठुलो हुँदैन, मेहनत गरे फल पाइन्छ," भन्ने भनाइलाई जीवनमा चरितार्थ बनाएकी छन् अर्जुनधारा नगरपालिका–६ की मिना बस्नेत। साधारण चिया व्यवसायलाई कर्मठता र सेवा भावले असाधारण बनाउँदै ३२ वर्षीया मिना आज आत्मनिर्भर जीवन बिताइरहेकी छन्।

झापाको बिर्तामोड तथा अर्जुनधाराका मुख्य बजारमा बिहान सबेरै देखिने एक विशेष दृश्य हो– साइकलमा तातो चिया बोक्दै ग्राहकहरूसँग मुस्कानसहितको व्यवहार गर्ने मिना बस्नेत।  बस्नेतले आफ्नो जीवन संघर्षलाई आत्मनिर्भरताको यात्रामा रूपान्तरण गरेकी छन्।

दुई वर्षअघि थर्मसमा चिया बोकेर साइकलमा गल्ली–गल्ली पुग्ने सङ्घर्षबाट सुरु भएको उनको यात्रा अहिले बिर्तामोडका अफिस, सडक र गल्लीहरूमा लोकप्रिय मोबाइल चिया सेवामा रूपान्तरण भइसकेको छ।

मिना ग्राहकबाट फोन वा सन्देशमार्फत अर्डर लिन्छिन् र १० मिनेटभित्र चिया पुर्‍याउने गर्छिन्। उनी कालो चिया १५ रुपैयाँ र दूध चिया २० रुपैयाँमा बेच्ने गर्छिन्। दैनिक एक हजार रुपैयाँ बढी आम्दानी गर्छिन्।

सासू आमा समेत गरी पाँच जनाको  परिवारको आधार बनेको यस आम्दानीले मिना न केवल आर्थिक रूपमा सक्षम बनेकी छन्, बरु आफ्नो सानी छोरीको शिक्षादेखि अटिजम भएका जेठा छोराको हेरचाहसम्म सम्हालिरहेकी छन्।

श्रीमान् भीम थापा विदेशबाट फर्केर घरमै छोराको स्याहारमा सघाइरहेका छन्। बिहान उनी सातु र चिया तयार पार्छन् भने मिना बजार निस्कन्छिन्। खाना पकाउनेदेखि लिएर मिना फर्किएपछि फेरि चिया बेच्न जाने कामसम्म दुवै मिलेर अगाडि बढिरहेका छन्।

सुरुवातमा लाज लाग्थ्यो भन्ने मिना अहिले बिर्तामोड तथा अर्जुनधारामा सबैले चिनेको अनुहार बनिसकेकी छन्। “ग्राहकहरूले माया दिनुहुन्छ, धेरै साथी बनेका छन्,” भन्छिन् उनी आत्मविश्वासका साथ।

सीमित लगानीबाट सुरु भएको उनको यो व्यवसायलाई अब विस्तार गर्ने योजनामा पनि उनी छन्। उनले थप थर्मस किन्ने, एक जना सहायक राख्ने र अर्डर व्यवस्थापनलाई अझ व्यवस्थित बनाउने सोच बनाइरहेकी छन्।

 

प्रतिक्रिया

पवन अधिकारी
लेखकको बारेमा
पवन अधिकारी

सम्बन्धित समाचार