सापटीको रकम फिर्ता लिन जाँदा वर्कसपमै हत्या

मंगलबार, १९ चैत्र २०८१
काठमाडौं : सर्लाहीको चक्रघट्टा गाउँपालिका–८ घर भएका १९ वर्षीय राहुल साह गत ११ चैतको साँझ आफू बस्दै आएको गोकर्णेश्वर नगरपालिका–५ बाहुनधारास्थित घरबाट निस्किए । उनी आफ्नो परिवारका सदस्यले सापटी दिएको रकम लिन जान्छु भनेर निस्किएका थिए । प्रहरी अनुसन्धानमा खुलेअनुसार खासमा उनको पारिवारिक सदस्यले चक्रघट्टा–१ घर भई बाहुनधारामै बस्दै आएका २२ वर्षीय निपु मण्डललाई १ लाख १० हजार रुपैयाँ सापटी दिएका थिए । निपुले माकलबारीमै आरके मोटरसाइकल वर्कसप सञ्चालन गर्दै आएका छन् । सापटीको रकम लिन आरके मोटरसाइकल वर्कसपमा पुगेका राहुल त्यहीँ नै विलिन भए । जोरपाटीस्थित भेनस पब्लिक स्कुलमा ११ कक्षामा अध्ययनरत राहुलले सापटी रकमकै कारण त्यहीँ नै ज्यान गुमाए । एक अनुसन्धान अधिकृतका अनुसार सापटीको रकम माग गर्ने क्रममा विवाद हुँदा निपुको समूहले राहुलको हत्या गरेका हुन् । पटकपटक रकम फिर्ता मागेर निहुँ खोजेको भन्दै निपुकै मुख्य भूमिकामा राहुलको हत्या भएको प्रहरी अनुसन्धानबाट खुलेको छ । त्यस दिन राहुलले पैसा नलिई नजाने अडान लिँदै वर्कसपमै बसेपछि उनीहरूबीच वाद–विवाद भएको र निपुले आफ्ना थप साथीहरूलाई बोलाएर उनीहरूको सहयोगमा हत्या गरेको प्रहरीले जनाएको छ । यस घटनामा प्रहरीले वर्कसप सञ्चालक निपु मण्डल, भारतको बिहार घर भई काठमाडौं दक्षिणढोका बस्ने २९ वर्षीय सुनील शर्मा, सर्लाहीको चक्रघट्टा गाउँपालिका–६ घर भएका १८ वर्षीय विजय यादव, सोही ठाउँका १८ वर्षकै करनकुमार महतो, सोही ठाउँका २३ वर्षीय जोधन मण्डल र चक्रघट्टा–१ का ४५ वर्षीय उत्तम मण्डललाई पक्राउ गरेको छ । पक्राउ परेका ६ जनाविरुद्ध काठमाडौं जिल्ला अदालतबाट कर्तव्य ज्यानको कसुरमा ५ दिनको म्याद लिएर अनुसन्धान अघि बढाइएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी तथा प्रवक्ता अपिलराज बोहोराले बताएका छन् । पक्राउ परेकाहरूले राहुलले रकम नलिई नजाने अडान राखेपछि निपुको योजनामा हत्या गरेको बयान दिएका छन् । उनीहरूको बयानअनुसार राति ११ बजेतिर राहुलको हत्या गरेका थिए । हत्यापछि उनीहरूले वर्कसप परिसरमै शव गाडेका थिए । हत्याका मुख्य अभियुक्त निपु, विजय र करन प्रहरीले हत्याका मुख्य अभियुक्त निपुसँगै विजय र करन पनि भएको जनाएको छ । हत्यापछि भागेर सर्लाही पुगेका विजय र करनलाई प्रहरीले सर्लाहीबाट पक्राउ गरेर काठमाडौं ल्याएको हो । बाँकी तीन जनालाई भने काठमाडौंकै विभिन्न ठाउँबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ । मृतकका परिवारले निपुमाथि नै शंका गर्दै आएका थिए सापटीको रकम लिन गएका राहुल मध्यरातसम्म पनि नफर्किएपछि परिवारमा त्रास छायो । त्यसपछि उनीहरू खोजीका लागि निस्किएका थिए । तर, फेला पार्न सकेनन् । भोलिपल्ट पनि नफर्किएपछि परिवारले खोजी गरिदिन भन्दै बौद्ध प्रहरीमा १२ चैतमा निवेदन दिए । त्यतिबेला परिवारका सदस्यले प्रहरीसमक्ष राहुल सापटी रकम माग्न भन्दै निस्केको पनि बताएका थिए । त्यसपछि प्रहरी वृत्त बौद्धका प्रहरीहरू अनुसन्धानका सिलसिलामा निपुको मोटरसाइकल वर्कसपमा पनि पुगेको थियो । निपुसहितलाई सोधपुछ पनि गरेको थियो । तर, उनीहरूले केही थाहा नपाएको बताएपछि प्रहरी त्यतिकै फर्किएको थियो । यद्यपि, प्रहरीले उनीहरूमाथि सूक्ष्म निगरानी भने राखिरहेको थियो । सोहीक्रममा शंका लागेर वर्कसपमै पुगेर प्रहरीले १५ चैतमा अनुसन्धान अघि बढाएको थियो । त्यसक्रममा वर्कसपभित्रकै पछाडितर्फको जमिनको माटो शंकास्पद देखिएपछि प्रहरीले उत्खनन ग¥यो । नभन्दै राहुलको शव प्रहरीले खाल्डोबाट निकाल्यो । हत्या गरेपछि शव व्यवस्थापन गर्न बाहिर लैजान गाह्रो भएपछि वर्कसपभित्रै खाल्डो खनेर गाडेको अनुसन्धानका क्रममा खुलेको प्रहरीको भनाइ छ । आजको राजधानी दैनिकमा प्रकाशित छ ।

प्रतिक्रिया

पत्रपत्रिकाबाट
लेखकको बारेमा
पत्रपत्रिकाबाट

सम्बन्धित समाचार