लायन्स ‘३२५ सी’मा सेकेन्ड भाइस गभर्नरका लागि बराल र खत्री बिच चुनावी रस्साकस्सी

बुधबार, २० चैत्र २०८१
इटहरी : आगामी चैत २३ गते विराटनगरमा हुने लायन्स इन्टरनेसनल डिस्ट्रिक्ट ‘३२५ सी’ सम्मेलनको मिति नजिकिँदै जाँदा सेकेन्ड भाइस गभर्नर पदको लागि चुनावी रस्साकस्सी चुलिएको छ । चुनावी मैदानमा देखिएका छन्,अजिताकुमारी बराल र अहिलेका क्याबिनेट ट्रेजरर रमेश खत्री । उनीहरू सभा-समारोह कार्यक्रम आयोजना गर्दै आफ्ना एजेन्डाहरू प्रस्तुत मात्रै गर्दै मतदाताको घरदैलो पनि पुगिरहेका छन् । मङ्गलवार सुनसरीको इटहरी स्थित लायन्स क्लबको सभा हलमा उम्मेदवार अजिताकुमारी बरालले मिट, ग्रिट एन्ड ब्लेस कार्यक्रमको आयोजना गरिन् । र, सेकेन्ड भाइस गभर्नर पदमा विजयी गराउन आव्हान गरिन् । सामाजिक कार्यमा अगाडि बढिरहेको संस्थाको गरिमालाई उच्च बनाउनका लागि सेकेन्ड भाइस गभर्नरका लागि आफ्नो सशक्त दाबी रहेको उनी बताउँछिन् ।
भन्छिन्, ‘संस्थामा महिलाको प्रतिनिधित्वका साथै संस्थालाई उत्तरदायी ढङ्गका साथ सञ्चालन गर्नका लागि मैले मेरो उम्मेदवारी प्रस्तुत गरेकी हुँ‘ । म यो डिस्ट्रिक्टमा उम्मेदवारी दिने पहिलो महिला भएकोले सबै लिडर र अध्यक्ष अनि मतदातालाई  भोट हाल्नका लागि अपिल र अनुरोध गर्छु ।’
आफू निर्वाचित भएमा लायन्सलाई थप उचाइमा पुर्‍याएर एक ढिक्का बनाउने दाबी बरालले गरेकी छिन । ‘महिलाको आवाज उठाउनका लागि पनि महिलाको नेतृत्व आवश्यकता पर्ने भएकाले यहाँ भित्रका विकृति विसंतिका विरुद्धमा मेरो उम्मेदवारी हो,’ उनले थपिन् । मतदाता र सबै लिडरको सिर नझुक्ने गरी सबैले गर्व गर्ने गरी काम गरेर यो संस्थालाई एक ढिक्का बनाउने उनको प्रतिबद्धता छ । लायन्स एक स्वतन्त्र सामाजिक संस्था रहेको उल्लेख गरेकी उनले ‘३२५ सी’ लाई सेवाका हात अगाडि बढाउन र आवश्यकतामा लायन्स पुग्ने कुरामा विश्वास दिलाइन् । उक्त कार्यक्रममा पूर्व गभर्नरहरू फुलकुमार लालबानी, रेवतबहादुर कार्की, नेपाल जेसिजका पूर्व अध्यक्ष भोलेस्वर दुलालसमेतले महिला पहिलो पटक नेतृत्वमा आउन खोजिएकाले सबैले साथ सहयोग गर्नुपर्नेमा जोड दिए । यस्तै लायन्स क्लब विराटनगर इन्नोभेटिभकी अध्यक्ष रञ्जिता खनाल पराजुली, लायन्स क्लब अफ इटहरी सुनसरीका अध्यक्ष तेजबहादुर पुरीले समेत कार्यक्रमलाई सम्बोधन गरेका थिए । उनीहरूले समेत यस पटक ‘३२५ सी’ डिस्ट्रिक्टमा महिला नेतृत्व आवश्यक रहेको कुरामा जोड दिए । विराटनगर इन्नोभेटिभकी अध्यक्ष पराजुलीले महिला भएकै कारण नेतृत्व तहबाट आफूहरूलाई सधैँ हेला गर्ने गरेको आरोप लगाइन । यस डिस्ट्रिक्टमा लागि गभर्नरका लागि बबरजंग थापा र फस्ट भाइस डिस्ट्रिक्ट गभर्नर लीला चिमोरियाको एकल दाबी छ । ‘३२५ सी’ अन्तर्गत १ सय ५४ क्लबका ३ हजार बढी लायन्स सदस्यहरू छन् । यसै डिस्ट्रिक्टबाट लायन्स इन्टरनेशनल डाइरेक्टरका लागि रेवतबहादुर कार्की र लीला ढुङ्गेलसमेत चुनावी मैदानमा होमिएका छन् ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार