सात दिनभित्र मन्त्रालयका फाइल टुंग्याउन मुख्यमन्त्री कार्कीको निर्देशन

आइतबार, १५ भदौ २०८२

विराटनगर। कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले प्रदेशका हरेक मन्त्रालयमा पुग्ने फाइल सात दिनभित्र टुंग्याउन निर्देशन दिएका छन्। आर्थिक वर्ष २०८१/८२ को वार्षिक समीक्षा कार्यक्रममा उनले राय, परामर्शसहितका सबै खाले फाइल सात दिनभित्र किनारा लगाउन वा ढिलो भए कारणसहित जानकारी दिन मन्त्रालयलाई आदेश दिए। उनले सात दिनभित्र फाइल किनारा लगाउन नसक्ने भए के कारणले लागेन भन्ने कारणसहित सम्बन्धित निकायलाई जानकारी दिन निर्देशन दिए।

मुख्यमन्त्री कार्कीले फाइल अड्काउने प्रवृत्ति अन्त्य गर्नुपर्ने भन्दै सुधारका लागि सचेत गराए। उनले बेरुजु फर्छ्यौटमा पनि कडाइका साथ काम गर्न निर्देशन दिँदै नीतिगत र असुलउपर गर्नुपर्ने बेरुजु छुट्याएर पुष मसान्तभित्र टुंग्याउन आग्रह गरे।

सुशासनलाई प्राथमिकतामा राख्दै उनले प्रशासनिक काम छिटो छरितो बनाउन, गुनासो सुनुवाइ शतप्रतिशत सुनिश्चित गर्न र जनताले प्रत्यक्ष देख्ने गरी सेवा दिन कर्मचारीलाई आह्वान गरे।

मुख्यमन्त्रीले उदय परियोजना, ब्याज अनुदान, पर्यटन वर्ष, पदमार्गमा आधारित पर्यटन विकास र लगानी सम्मेलनमार्फत आएका योजनालाई प्राथमिकतामा राखेर अघि बढाउन निर्देशन दिए। साथै, अधुरा र अलपत्र योजनाको विवरण तुरुन्त संकलन गरी ती लाई निरन्तरता दिन मन्त्रालयलाई आग्रह गरे।

कार्यक्रममा प्रदेश सरकारकी प्रमुख सचिव चन्द्रकला पौडेलले बेरुजु फछर्योट, ओएनएम सर्वे र राजस्व कानुनलाई प्राथमिकतामा राखेर काम गर्नुपर्ने बताइन्। कार्यक्रममा मन्त्री, सचिव र मन्त्रालयका महाशाखा प्रमुखहरूको सहभागिता थियो।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार