काठमाडौँ : २०७५ जेठमा बनेको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) २०७७ सालमा तितरबितर हुँदा नेता वामदेव गौतमले पार्टी नफुटोस् भनेर हदैसम्मको प्रयत्न गरेका थिए। तर उनी त्यसमा सफल हुन सकेनन्। अन्ततः नेकपा फुट्यो र नेकपा एमाले र माओवादी केन्द्र पूर्ववत् अवस्थामै फर्किए।
एमाले र माओवादी केन्द्रमध्ये कुनै कित्तामा नउभिएका वामदेवले पुनः एकताका लागि ‘नेकपा एकता अभियान’ गठन गरे।
उनले आफूले सुरु गरेको अभियानलाई सार्थकता दिन एमाले अध्यक्ष केपी शर्मा ओली, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाललगायत नेताहरूसँग संवाद अघि बढाए तर नेकपा एकता हुन सकेन। अर्थात् वामदेवले नेकपा एकताका लागि पाँच वर्षसम्मको गरेको प्रयास निरर्थक बन्यो।
तत्कालीन नेकपाको पुनः एकता कठिन रहेको महसुस भएपछि उनले आफ्नो अभियानलाई पार्टीमा बदले, निर्वाचन आयोगमा दर्ता गरे। उनले एमाले र एमालेबाट फुटेर बनेको नेकपा एकीकृत समाजवादी (नेकपा एस) सँग एकताका लागि प्रयास गरे। तर अहिलेसम्म उनले सोचेअनुरूप हुन सकेको छैन।
उनको अभियान पार्टीका रूपमा दर्ता भयो । त्यसपछि उनले सके एमालेसँग नभए नेकपा एससँग पार्टी एकताको प्रयास गरे तर अहिलेसम्म सम्भव भएको छैन।
पछिल्लो पटक उनले नेकपा एससँग एकताका लागि अन्तिम पाइला चाल्दै थिए। प्रक्रिया अन्तिम बिन्दुमा थियो । त्यही बेला एमाले अध्यक्ष केपी शर्मा ओलीले बोलाए र आफ्नो पार्टीसँग एकता गर्न सुझाए। वामदेवलाई ढुंगा खोज्दा देउवा मिलेझैं भयो।
उनी नेकपा एससँग नजोडिने निष्कर्षमा पुगे। उनलाई लागेको थियो– एमालेसँग पार्टी एकता हुने भयो। तर पछि त्यो पनि उनका लागि हात्ती आयो हात्ती आयो फुस्सा नै बन्न पुग्यो।
एमालेले उनीसँग अहिलेसम्म पार्टी एकताका लागि भनेर एउटा पनि छलफल चलाएको छैन। पछि मात्रै वामदेवले थाहा पाए– ओलीले नेकपा एससँगको एकता प्रक्रिया भाँड्न मात्रै एकताको ‘ललीपप’ देखाएका रहेछन्। नागरिकसँगको कुराकानीमा उनले भने, ‘ओलीजीले मलाई यता न उताको बनाइदिनुभयो।’
यता एमालेको ललीपपको प्रलोभनमा परेका वामदेवसँग नेकपा एस पनि बिच्किसकेको थियो। नेकपा एसले त यस्तोसम्म भन्यो, ‘अब वामदेवसँग कुनै सर्तबिना एकता हुँदैन।’
त्यसपछि वामदेव यता न उताका भएका हुन्। यसबिचमा उनले आफ्नै पार्टी पुनर्गठन गरेर अगाडि बढ्ने सोच पनि नबनाएका होइनन् तर बहुंख्यक नेताहरूले त्यसो नगर्न सुझाए। अहिले यत्तिकै समय काटिरहेका उनले शुक्रबार नागरिकसँग भने, ‘पार्टीलाई अगाडि बढाउने सोच छैन। भन्ने नै हो भने छुट्टै पार्टीका रूपमा अगाडि बढ्ने रहर छैन।’
वामदेवका अनुसार अहिले पुनः नेकपा एससँग एकताका लागि वार्ता भइरहेको छ। एमालेले एकताका लागि नबोलाउने टुंगो लागेको पनि उनले बताउँदै उनले भने, ‘फेरि नेकपा एससँग एकताका लागि विभिन्न तहमा वार्ता चलिरहेको छ। आवश्यक परे म र माधव नेपालजी भेटिहाल्नेछौं।’
उनले त्यसो भने पनि पहिले अन्तिम चरणमा पुगेको एकता प्रक्रियालाई बिचैमा छाडेर हिँडेको भन्दै नेकपा एसले वामदेवसँग वार्ता गर्न अटेर गरिरहेको छ। तर डिबी कार्कीलगायत नेताहरूले विभिन्न तहमा वार्ता अगाडि बढाएका छन्। अहिलेसम्म आइपुग्दा वामदेवले जेजसरी भए पनि पार्टी एकताकै दिशामा अगाडि बढ्ने बताए।
उनले एमाले र नेकपा एस मात्र नभएर माओवादी केन्द्रसम्मका दलसँग समेत एकताका लागि वार्ता नगरेका होइनन् तर कुनै दलसँग कुरा मिलेको छैन। एकताका लागि माओवादी केन्द्रले इन्कार र एमालेले अस्वीकार गरेपछि उनी फेरि नेकपा एससँग नजिकिएको बताइन्छ।
आजको नागरिक दैनिकमा प्रकाशित छ ।
प्रतिक्रिया