विराटनगर : कोशी प्रदेशको राजधानी विराटनगरमा आज ९बिहीबार०देखि २ दिने ‘कोशी लगानी सम्मेलन’ सुरु हुने भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले बिहान ११ बजे उद्घाटन गर्ने भनिएको सम्मेलन शुक्रवारसम्म चल्ने छ ।
वीरेन्द्र सभागृहमा हुने सम्मेलनले लगानीको वातावरण बनाउँदै प्रदेशमा समृद्धिको ढोका खोल्ने अपेक्षा गरिएको छ । प्रदेश सरकारले पहिलो पटक आयोजना गर्न लागेको सम्मेलनले उद्योगी व्यवसायीसमेतका निजी क्षेत्र र सरोकारवालालाई उत्साहित बनाएको छ ।
प्राकृतिक सम्पदा, उत्पादन, आय र रोजगारीका असीमित सम्भावना तथा रणनीतिक अवस्थितिका कारण कोशी प्रदेशलाई नेपालकै अर्थतन्त्रको मेरुदण्डका रूपमा हेर्न गरिएको छ । सगरमाथाको काख देखी तराईको उर्वर भूमिसम्म फैलिएको प्रदेशमा सम्मेलनले कृषि, पर्यटन, जलविद्युत् र औद्योगिक विकासका क्षेत्रमा लगानीको वातावरण तयार पर्ने अपेक्षा गरिएको छ ।
सम्मेलनले सङ्कटमा पर्दै गएको औद्योगिक एवं व्यावसायिक वातावरणलाई थप सहज बनाउने भएकाले व्यवसायी उत्साहित छन् । नेपाल उद्योग वाणिज्य महासङ्घ कोशी प्रदेशका अध्यक्ष राजेन्द्र राउत सम्मेलनले समग्र निजी क्षेत्रमा उत्साह ल्याएको बताउँछन् । सम्मेलनमार्फत बन्ने लगानीको वातावरणले कोशीको आर्थिक पुनरुत्थान र समग्र नेपालको समृद्धिको आधार तयार पार्ने उनको भनाइ छ ।
‘अर्थतन्त्र शिथिल छ । लगानीको अवस्था बनिरहेको छैन । व्यवसायीहरू निराश बन्ने अवस्था छ । यही बेला हुन लागेको सम्मेलनले पक्कै पनि आशाको सञ्चार गर्नेछ’, अध्यक्ष राउत भन्छन्, ‘प्रशासनिक झन्झट, ढिलाइ, बजारको पहुँच र जमिन उपलब्धताको समस्या समाधानका लागि स्थायी संवाद मञ्च स्थापना, साना उद्यमीलाई बजारीकरणमा सहयोग र युवाहरूको सीप विकास निजी क्षेत्रका प्रमुख प्राथमिकता हुन् । सम्मेलनमा यस विषयमा पनि बृहत् छलफल हुने विश्वास गरिएको छ ।’
नेपाल उद्योग परिसंघ कोशी प्रदेशका अध्यक्ष पवनकुमार शारडा लगानी सम्मेलनले शिथिल अवस्थामा रहेको व्यवसाय क्षेत्रलाई चलायमान बनाउने अपेक्षा गर्छन् । राज्यले हाल भइरहेका समस्या समाधानका लागि पहल गर्ने र व्यवसायीका कुरा सुन्ने भएकाले निजी क्षेत्र सम्मेलनबाट उत्साहित भएको उनको भनाइ छ ।
सम्मेलनबाट १ खर्ब ७३ अर्ब ४९ करोड रुपैयाँ बराबरको लगानी भित्रिने अपेक्षा गरिएको छ । जसका लागि ७१ वटा परियोजनाहरू ‘सोकेसिङ’ गरिएको छ । कृषि, पर्यटन, ऊर्जा, उद्योग, पूर्वाधार, सूचना प्रविधिलगायतका क्षेत्रका परियोजना ‘सोकेसिङ’ गरिने भएपछि निजी क्षेत्र उत्साहित बनेको हो ।
प्रदेश लगानी प्राधिकरणका प्रमुख कार्यकारी निर्देशक डा। सरोज कोइरालाले लगानी सम्मेलनकै क्रममा दुई दर्जनभन्दा बढी परियोजनामा सम्झौता ९एमओयू० हुने जानकारी दिए । सम्मेलनमा कृषि र पर्यटनमा कोशी प्रदेशको सम्भावना, औद्योगिक उत्पादन र बजारीकरण, पूर्वाधार विकास र ऊर्जा, स्वास्थ्य सेवा र मेडिकल शिक्षामा लगानीका अवसर र सम्भावनाका विषयमा छलफल हुनेछ ।
पहिलो दिन कोशी प्रदेशका हकमा लगानीमैत्री वातावरण र ३ तहका सरकारहरू बिचको अन्तरसम्बन्धका विषयमा विज्ञहरू तथा जनप्रतिनिधिहरूबाट धारणा प्रस्तुत हुने जनाइएको छ । लगानीको सम्भावना प्रचुर रहेको कोशी प्रदेशको समृद्धि र विकासका लागि सम्मेलन ऐतिहासिक एवं उपलब्धिमूलक हुने बताइएको छ ।
प्रतिक्रिया