इटहरी । सुनसरीको इटहरी उपमहानगरपालिका–१२ ट्रान्सपोर्ट स्थित कोशी लोक मार्गमा मोटरसाइकलको ठक्करबाट एक वृद्ध गम्भीर घाइते भएका छन्।
हिजो (शुक्रवार) साँझ ६ः१० बजे इटहरीबाट विराटनगरतर्फ गइरहेको प्रदेश १–०२–०५६प ८९१८ नम्बरको मोटरसाइकलले पूर्व–पश्चिम लोकमार्ग पार गर्दै गरेका पैदल यात्री मोरङ, सुन्दरहरैँचा नगरपालिका–७ निवासी ६५ वर्षीय डम्बर पोखरेललाई ठक्कर दिएको हो।
दुर्घटनामा पोखरेलको टाउको र अनुहारमा गम्भीर चोट लागेको जनाइएको छ। दुर्घटनापछि तत्कालै उपचारका लागि उनलाई विराटनगरस्थित आर्या न्युरो अस्पतालमा लगिएको र आइसियुमा राखेर उपचार भइरहेको प्रहरीले जनाएको छ।
दुर्घटनापछि मोटरसाइकल चालक मोरङ, विराटनगर महानगरपालिका–११ निवासी २८ वर्षीय विवेक कुमार केशरीलाई प्रहरीले नियन्त्रणमा लिएको छ। मोटरसाइकलसहित चालकलाई खनारस्थित सिआरभी सुनसरीको टोलीले नियन्त्रणमा लिएको हो।
घटनास्थल सिआरभी खनारबाट झन्डै एक किलोमिटर दक्षिणमा पर्छ। घटनाबारे थप विवरण सङ्कलन भइरहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ।
पोखरेलको स्वास्थ्य स्थिति गम्भीर रहेको र उनका आफन्तहरू उपचारमा संलग्न रहेको प्रहरीले जनाएको छ।
प्रतिक्रिया