इटहरी । सुनसरीको रामधुनी नगरपालिका ४ रामपुरामा खाना पकाउने क्रममा कुकर पड्कँदा ४५ वर्षीया एक महिला गम्भीर घाइते भएकी छन्।
हिजो (सोमबार) बेलुकी करिब ६ः४० बजे घरमै खाना पकाउने क्रममा कुकर पड्कँदा बिमला भट्टराईको अनुहार र बायाँ हातमा गम्भीर चोट लागेको हो।
घाइते भट्टराईलाई बेलुकी ९ः४० बजे उपचारका लागि धरानको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पुर्याइएको थियो। त्यहाँ सामान्य उपचारपछि थप उपचारका लागि विराटनगरस्थित ग्रिनक्रस अस्पतालमा रेफर गरिएको प्रहरीले जनाएको छ।
भट्टराईको अवस्था हाल मध्यम रहेको र विराटनगको ग्रिनक्रस अस्पतालको आईसीयू वार्डमा भर्ना गरिएको बताइएको छ। घाइते भट्टराईको उपचारमा उनका श्रीमान् कृष्ण भट्टराई संलग्न छन्।
घटनाको जानकारी पाएलगतै प्रहरी चौकी सिंगियाबाट प्रहरी सहायक निरीक्षक गोपाल प्रसाद बास्तोलाको कमाण्डमा दुई सदस्यीय टोली घटनास्थलमा खटिएको थियो। घटनास्थल प्रहरी चौकी सिंगियाबाट करिब २ किलोमिटर पूर्वउत्तरतर्फ पर्ने र घटनाबारे थप अनुसन्धान भइरहेको सुनसरी प्रहरीले जनाएको छ।
प्रतिक्रिया