काठमाडौं । प्रतिनिधि सभाको बैठकमा गभर्नर नियुक्तिमा भइरहेको ढिलाइबारे सरकारको जवाफ खोजिएको छ ।
प्रतिपक्षी दलका सांसदहरूले गभर्नर नियुक्तिमा भइरहेको ढिलासुस्तीले राष्ट्रकै बेइज्जत भइरहेको भन्दै तत्काल गभर्नर नियुक्तिका लागि माग गरेका हुन् । यस्तै, राष्ट्र बैंकको नेतृत्व महिलालाई दिन पनि संसद्मा माग भएको छ ।
माओवादी केन्द्रकी सांसद रेखा शर्माले गभर्नर नियुक्ति हुन नसक्नुको कारण माग गरिन् । ‘दुई तिहाइको सरकारले गभर्नर नियुक्त गर्न नसक्दा राष्ट्रकै बेइज्जत भइरहेको छ । सक्षम र योग्य व्यक्तिलाई तत्काल नियुक्ति गरियोस्,’ उनले भनिन् ।
यस्तै, राष्ट्रिय प्रजातन्त्र पार्टीकी सांसद रोशन कार्कीले गभर्नर नियुक्तिमा लीलाम बढाबढ भइरहेको आरोप लगाइन् । उनले महिलालाई गभर्नर नियुक्त गर्न माग गरेकी छिन् । ‘गभर्नर नियुक्तिमा ३ करोडसम्म माग भएको सुनिएको छ । महिला राष्ट्रपति, महिला प्रधानन्यायाधीश, महिला सभामुख भएको मुलुकमा गभर्नर पनि महिला बनाऔँ,’ उनले भनिन् ।
कार्यवाहक गभर्नर नीलम ढुंगानालाई गभर्नर बनाउन उनको माग छ । सत्ता गठबन्धनभित्र अहिले गभर्नर नियुक्तिका लागि तीन वटा विकल्पमा छलफल भइरहेको छ । पहिलो, गुणाकर भट्टलाई नियुक्ति गर्दा कुनै कानुनी अड्चन नआउने सुनिश्चित गर्ने । यसका लागि गठबन्धनले कानुन विज्ञसँग परामर्श गर्ने, दोस्रो, भट्टको नियुक्तिमा कुनै अड्चन नआउने सुनिश्चित भए कार्यवाहक गभर्नर परिवर्तन गर्ने । र तेस्रो, भट्टको सट्टामा नयाँ व्यक्तिको नाम अघि बढाउने ।
गत शुक्रबार बसेको काङ्ग्रेस पदाधिकारी बैठकमा सभापति शेरबहादुर देउवाले गभर्नरमा सम्भावित योग्य व्यक्तिको नाम सिफारिस गर्न सुझाएका थिए । सरकारले एक महिना वित्दा पनि गभर्नर नियुक्त गर्न सकेको छैन ।
प्रतिक्रिया