काठमाडौं : स्वर्णलक्ष्मी बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको रकम अपचलनको आरोपमा पक्राउ परेकी नेपाली कांग्रेसकी सांसद माया राईलाई अदालतले धरौटीमा रिहा गर्न आदेश दिएको छ।
काठमाडौं जिल्ला अदालतका न्यायाधीश महेन्द्र बहादुर कार्कीको इजलासले सांसद राईलाई १० लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएको हो। उनलाई वैशाख १३ गते प्रहरीले पक्राउ गरेको थियो।
सांसद राईले कालिमाटीस्थित मुख्य कार्यालय रहेको स्वर्णलक्ष्मी सहकारीमा प्रारम्भमा सदस्य र पछि सहसचिवका रूपमा जिम्मेवारी सम्हालेकी थिइन्। उनी २०७३ सालको कार्तिक ६ गतेदेखि २०७४ मंसिर ४ गतेसम्म सदस्य तथा २०७४ मंसिर ४ गतेदेखि २०७६ भदौ २१ गतेसम्म सहसचिव पदमा कार्यरत थिइन्।
उनको कार्यकालमा सहकारीको २ करोड ४० लाख ४४ हजार ७९० रुपैयाँ अपचलन भएको प्रहरी अनुसन्धानबाट देखिएको छ। यसै सन्दर्भमा मंगलबार काठमाडौं जिल्ला सरकारी वकिल कार्यालयले उनलाई ३७ लाख ३५ हजार रुपैयाँ बिगो माग दाबी गर्दै अदालतमा अभियोगपत्र दायर गरेको थियो।
प्रतिक्रिया