सुनसरीको रामधुनिमा दुई मोटरसाइकल ठोक्किँदा २ जना घाइते

विहीबार, ०१ जेठ २०८२

सुनसरी :  सुनसरीको रामधुनी नगरपालिका–६, ईचौलस्थित चतरा कान्छी चोक सडक खण्डमा बुधबार दुई मोटरसाइकल एकआपसमा ठोक्किँदा २ जना घाइते भएका छन्।

गाईघाटबाट इटहरीतर्फ आउँदै गरेको स.१०प.९५९७ नम्बरको मोटरसाइकल र बाटो क्रस गर्दै गरेको को.१३प.९९०८ नम्बरको मोटरसाइकल एक आपसमा ठोक्किएको हो। दुर्घटनामा को.१३प.९९०८ नम्बरको मोटरसाइकल चालक ६२ वर्षीय जितलाल धामीलाई कुनै चोटपटक लागेको छैन।

स.१०प.९५९७ नम्बरको मोटरसाइकल चालक उदयपुर त्रियुगा नगरपालिका–३ का ५३ वर्षीय धर्मबहादुर तामाङको दायाँ कुम, हात र खुट्टामा सामान्य चोट लागेको छ।

सोही मोटरसाइकलमा पछाडि सवार उनकी श्रीमती ५५ वर्षीया मनमाया तामाङको टाउकोमा मध्यम खालको चोट लागेको छ। दुवै जनाको बोलचाल सामान्य रहेको र प्रारम्भिक उपचारपछि सान्वी सिटी अस्पताल लबीपुरबाट न्युरो अस्पताल विराटनगरमा दिउँसो १२:२० बजे थप उपचारका लागि रेफर गरिएको प्रहरीले जनाएको छ। हाल दुवैको अवस्था सामान्य छ।

घटनास्थल ईप्रका पकलीबाट ४ किमी उत्तरमा पर्छ। दुर्घटनापछि ईप्रका पकलीका प्रहरी निरीक्षक टिकाराम थापाको कमाण्डमा टोली खटिएको थियो। मोटरसाइकल चालक जितलाल धामीलाई नियन्त्रणमा लिई ईप्रका पकलीमा राखिएको छ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार