इटहरी : इटहरी उपमहानगरपालिकामा कार्यरत शाखा अधिकृत सस्मिता लुइँटेलको ठगी धन्दा बाहिर आएको छ । जनताको सेवा गर्ने जिम्मेवारी पाएको कर्मचारीले व्यक्तिगत पहुँच, वाहानाबाजी, सरकारी पद र विश्वासको दुरुपयोग गर्दै सर्वसाधारणको करोडौँ रकम ठगी गरेको पाइएको हो ।
सर्वसाधारणसँग करोडौँ रकम असुलेर सस्मिता फरार भएपछि यति वेला दर्जनौँ पीडितहरू न्यायको खोजीमा इटहरी उपमहानगरपालिका र प्रहरी कार्यालय धाइरहेका छन् ।
झापाको अर्जुनधारा नगरपालिकाबाट सरुवा भएर गत भदौ ६ गते इटहरी आएकी शाखा अधिकृत सस्मिताले वडा नम्बर १७ र २० को सचिवका रूपमा काम गरेकी थिइन् । भदौ ९ गते हाजिर भएसँगै उनले कार्यालयको काममा जनतासँग सहजीकरणको भूमिका खेले पनि त्यो व्यवहार विश्वास आर्जनको माध्यम मात्र भएको खुलेको छ ।
घरमै पुग्दै बिरामी परेको बहाना बनाएर तत्काल आवश्यकता परेको भन्दै चाँडै फिर्ता गर्ने सर्तमा रकम माग्ने गरेको पीडितहरू बताउँछन् । सरकारी पदको आडमा सर्वसाधारणलाई विश्वासघात गर्दै सस्मिताले छोटो समयमै करोडौँ रकम ठगी गरेको तथ्यहरूबाट पनि पुष्टि हुन्छ ।
जस्तोसुकै नाटक गर्न पछि नहट्ने उनी अहिले फरार छिन् । तर, पीडितहरू उनी विरुद्ध प्रहरी र अदालतसम्म पुगेका छन् ।
इटहरीका मोहन दंगालको नयाँ व्यवसायका लागि सर्जिमिन गराउनु थियो । थोरबहुत पैसा हातमा थियो । कार्यालयकै कर्मचारीले दुःख पोखेर पैसाको आवश्यकता परेको बताएपछि उनले विश्वास गरेर नै अढाई लाख थमाए । सरकारी कर्मचारीले कसरी ठग्लिन् र ? भन्ने उनलाई लाग्यो । तर, अहिले आफूबाट ठुलो भुल र गल्ती भएको भनेर उनी पछुतो मानिरहेका छन् ।
त्यस्तै, इटहरी लविपुरका व्यवसायी विपिन भट्टराईले सँगै पढेकी सस्मितालाई २४ लाख रुपैयाँ दिएका थिए । ‘खोलाको ठेक्का लिँदै छु, पैसा आउँछ नि’ भनेर आश्वासन दिँदै आफूसँग वडा सचिव सस्मिताले पैसा मागेको विपिन बताउँछन् । तर, अहिले उनी पनि आफू ठगिएको महसुस गरिरहेका छन् ।
सस्मिताले आफ्नो खातामा मात्रै नभएर अरूको खातामा पनि पटक–पटक पैसा हाल्न लगाएको विपिन बताउँछन् । अहिले आफ्नो व्यवहारले आफैँ तनावमा परेको बताउँदै उनले पैसा कसै गर्दा पनि फिर्ता लिन नसकेको गुनासो गरे । भने, ‘अहिले धेरै तनावमा छु । विश्वास गरेर पैसा दिएँ । अहिले ठगिएको थाहा भयो ।’
वडा कार्यालयमा सचिव हुँदा समेत एकपछि अर्को दुःख बिलौना सुनी सरकारी कर्मचारीको विश्वास गरेर पैसा दिएकाहरू अहिले सस्मिता नै सम्पर्कविहीन भएपछि पैसा फिर्ताका लाग विभिन्न निकायमा धाइरहेका छन् ।
सरकारी कर्मचारी, व्यापारी र सर्वसाधारणसम्मै ठगिए
सस्मिताबाट ठगिएका पीडितहरूको सूची निक्कै लामो छ । उनले बुनेको ठगीको जालोमा सरकारी कर्मचारी, सहकर्मी, इटहरीका व्यवसायी र सर्वसाधारणसम्म परेका हुन् । सस्मितालाई विश्वास गर्नेहरू नै प्रायः ठगिएका छन् । उनले कतिपयलाई व्यवसायमा समेत लगानी गरिदिने प्रलोभन पारेकी थिइन् । उनका निशानामा खास गरी घर निर्माण तयारीमा रहेका सर्वसाधारण, व्यवसायी र आफ्नै सहकर्मी कर्मचारीसमेत परेको देखिएको छ ।
स्वास्थ्य चौकी खनारमा कार्यरत नै रहेका सहकर्मी विकास पौडेलसँग उनले ४ लाख ५० हजार लिइन् । विकासको विश्वास जित्न उनले तत्काल चेक दिइन् । तर, अनेक बहाना बनाएर विकाससँग राम्रै रकम फुत्काएकी सस्मिताको खातामा पैसा भने छैन । चेकमा उल्लेख भए अनुसारको पैसा नभएपछि उनी पनि सर्वसाधारणजस्तै पीडामा परेका छन् ।
सस्मिताबाट ठगिएको भनेर अहिले कानुनी उपचारका लागि प्रहरी कार्यालय धाइरहेका पीडितमध्येका विकास पनि एक हुन् । उनीबाट ठगिएकाहरू न्यायका लागि प्रहरी र अदालतको ढोका ढकढक्याइरहेका छन् ।
पीडितहरूका अनुसार विश्वास दिलाएर पैसा फुत्काउन सफल भएकी सस्मिताले पैसा लिने र चेक दिने समेत गर्थिन् । पैसा लिएर उनले थमाएका सम्पूर्ण चेकहरू अहिले ‘बाउन्स’को प्रक्रियामा छन् । एक स्थानीय भन्छन्,‘आफ्नो नामको चेक त भई नै हाल्यो । कतिपयलाई त चेक पनि अरूकै नामको दिएको पाइयो । कर्मचारी नै भएपछि मानिस विश्वासमा परे र सजिलैसँग पैसा फुत्काउन सकिन् ।’
इटहरी उपमहानगरपालिकाको कर्मचारी प्रशासन शाखा प्रमुख दीपक पौडेलले सस्मिताबाट ठगिएको भनेर धेरै गुनासो आइरहेको बताए । गुनासो गर्नेको सङ्ख्या सयभन्दा बढी रहेको उनको भनाइ छ । ‘हामीकहाँ आएका गुनासोहरू सय नाघिसकेका छन् । कसैले ५ लाख गुमाए, कसैले ५० लाख । एक जनाले त १ करोड गुमाएको भन्नु भएको छ,’ दीपक भन्छन् ।
उनले सस्मितासँग जोडिएको प्रकरण व्यक्तिगत लेनदेन भएको देखिएको बताए । ‘यो व्यक्तिगत लेनदेन हो,’ उनले भने, ‘कार्यालयको कामका लागि अतिरिक्त रकम लिएको भन्ने प्रकृतिको चैँ देखिएको छैन ।’
चतुर ठग : फिल्डमा हाजिर, फोनमा नाटक
स्रोतका अनुसार सस्मिताले कार्यालयमा नम्र व्यवहार, फिल्ड भ्रमणमा सक्रियता र सहकर्मीसँग सुमधुर सम्बन्ध बनाउँदै विश्वास जित्ने काम गरिन् । ‘बिरामी परेको नाटक र आपत् परेको अभिनय गर्ने तथा नाफाको सपना देखाउँदै साझेदार बनाउनेजस्ता आश्वासन बाँडेर पैसा बटुल्थिन्,’ सस्मितालाई नजिकबाट चिन्नेहरू भन्छन् ।
विशेषतः घर बनाउँदै गरेका सर्वसाधारण, ऋण खोज्दै गरेका व्यवसायी र सरकारी कर्मचारीहरू नै निशानामा परेकाले पनि यसको पुष्टि हुन्छ । अर्कोतर्फ पैसा लगेर फिर्ता नगर्ने गरेको गुनासो बढेपछि नै गत माघ ९ मा वडा कार्यालयको सचिवमा हाजिर हुन पुगेकी उनलाई फागुन २० गते नै वडा सचिवबाट हटाएर उपमहानगरपालिकामा तानिएको अवस्था रहेको छ ।
निजामती कर्मचारीको छैटौँ अधिकृतका रूपमा रहेकी सस्मिता इटहरी उपमहानगरपालिकाको कार्यालयगत विवरण अनुसार हाल अतिरिक्त समूहमा रहेर काम गरिरहेको देखिन्छ ।
अदालत पुगे पीडित, प्रहरीले गर्दैछ अनुसन्धान
पीडितहरू न्याय माग्दै अदालतसम्म पुगेका छन् । अदालतले सस्मिताको तीन पुस्ते विवरण मागेको छ । तर, उपमहानगरपालिकाले अदालतलाई दिन सकेको छैन । उनी सरुवा भए पहिले कार्यरत रहेको अर्जुनधारा नगरपालिकाबाट विवरण झिकाउनसमेत सकेको छैन । विवरण उपलब्ध गराउन अर्जुनधारा नगरपालिकालाई चिठ्ठी पठाउँदा पनि प्राप्त नभएको इटहरी उपमहानगरले जनाएको छ ।
यो ठगी प्रकरणको इलाका प्रहरी कार्यालय इटहरीले पनि अनुसन्धान सुरु गरेको छ । प्रहरीमा उजुरी दर्ता भइसकेको छ । पीडितसँग थप कुरा बुझ्ने काम भइरहेको प्रहरीले जनाएको छ । तर, सस्मितासँग तत्काल सम्पर्क हुन नसकेपछि थप अनुसन्धानमा ढिलाइ भएको प्रहरी स्रोत बताउँछ ।
इलाका प्रहरी कार्यालयका इन्स्पेक्टर महेन्द्र पराजुलीले प्राप्त भएका उजुरीका आधारमा प्रहरीले अनुसन्धान अगाडि बढाएको बताए । ‘इटहरी उपमहानगरपालिकाको कर्मचारीसमेत भएकाले हामीले निजका सन्दर्भमा सर्जिमिन गराइसकेका छौं । केही दिनमै अदालतबाट पक्राउको अनुमति लिएर थप अनुसन्धान गर्ने तयारीमा रहेका छौं,’ पराजुलीले भने ।
उनका अनुसार प्रहरीले पीडित र पिडकबिच समन्वयकारी भूमिका खेल्दासमेत पीडक भनिएकी सस्मिता प्रहरीको सम्पर्कमा आइनन् । अर्कोतर्फ प्रदेशखबरले समेत सर्वसाधारणको रकम ठगेर फरार बनेको आरोप लागेकी उनीसँग कुरा गर्न खोज्दा सम्पर्कविहीन(फोन उठाइन र कुरा गर्नसाथ काटिन) बनेको अवस्था रहेको छ ।
अर्जुनधारा समेत हैरानी, ९० दिनपछि फरार घोषणा
इटहरी आउनुअघि उनी रहेको झापाको अर्जुनधारा नगरपालिकामा समेत उनले हैरानी खेलाएको त्यहाँको नगरपालिका श्रोत बताउँछ । कार्यालय प्रमुखकै हस्ताक्षरको दुरुपयोग गरी राजस्वमा समेत उनले लामो समयसम्म तलमाथि बनाएको दाबी श्रोतको छ ।
यता इटहरीमा सस्मिता मौखिक बिदामा छिन् । कर्मचारी प्रशासन प्रमुख दीपक पौडेल भन्छन्,‘यदि उहाँ ९० दिनसम्म पनि कार्यालय आउनु भएन भने कानुनअनुसार हामी खोजी प्रक्रिया अगाडि बढाउँछौँ ।’
अदालतमा मुद्दा परेपछि कार्यालयमा समेत लिखित जानकारी नगराईकन सस्मिता बिदामा बसेकी हुन् । ९० दिनभित्र कार्यालयमा उपस्थित नभए उनलाई कानुनी रूपमा ‘फरार’ घोषणा गर्दै खोजीको प्रक्रिया अघि बढाउने तयारी उपमहानगरको समेत छ ।
कार्यालयमा हाजिर छैन । फोन उठाउँदिनन् । उठाए पनि केही दिनमा आउँछु भनेर सम्पर्कविहीन हुने गरेको इटहरी उपमहानगरपालिका श्रोत बताउँछ ।
सामान्य हैन यो प्रकरण
सस्मिताको ठगी एउटा सामान्य आर्थिक अपराध होइन । पदकै दुरुपयोग गरेर सर्वसाधारणमाथि ठगी गरेको यो प्रकरणले सरकारी कर्मचारीमाथि पनि अविश्वास पैदा गराएको छ । ‘सरकारी पदको दुरुपयोग गरेर जनताको पैसा ठग्नु सामान्य हैन । ठुलै आर्थिक अपराध हो,’ एक प्रहरी अधिकारी भन्छन् ।
कतिपयले यो घटनालाई एउटा सचिवको ठगी धन्दाका रूपमा मात्रै लिएका छैनन् । इटहरी उपमहानगरको प्रतिष्ठासँग जोडेर हेर्न थालेका छन् । उपमहानगरको प्रतिष्ठामा एउटा कर्मचारीले गम्भीर धब्बा लगाइदिएको कतिपयको बुझाइ छ । सरोकारवालाहरू सरकारी जागिरको खोल ओढेर गरिएको ठगीमा संलग्नमाथि कडा कारबाही हुनुपर्ने र पीडितले पैसा फिर्ताका साथै न्याय पाउनुपर्ने बताउँछन् ।
एक निजामती कर्मचारीले आफ्नो पद र पहुँचको गलत प्रयोग गरी सर्वसाधारणलाई आर्थिक मारमा पारेको घटनाले सबैलाई झस्काएको छ । सरकारी सेवाको विश्वासमा परेका सर्वसाधारणहरू एउटा मामुली कर्मचारीबाट नै नराम्ररी ठगिएका छन् । विश्वासमा परेर फसेकाहरूको व्यवहार नै चौपट हुने अवस्था बनेको छ ।
अर्कोतर्फ कसरी पीडितले न्याय पाउँछन् र पीडकलाई कस्तो कारबाही हुन्छ ? भनेर पर्खनुको विकल्प समेत छैन ।
प्रतिक्रिया