काठमाडौं : हाल देशमा पश्चिमी वायु, स्थानीय वायु तथा बंगालको खाडी र अरब सागरबाट आएको जलवाष्पयुक्त हावाको आंशिक प्रभाव देखिएको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
महाशाखाका अनुसार अहिले देशका पहाडी भू-भागमा आंशिक बदली रहेको छ भने अन्यत्र मौसम मुख्यतः सफा देखिएको छ। दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी क्षेत्रका केही स्थानहरूमा मेघगर्जन र चट्याङ्गसहित हल्का देखि मध्यम वर्षाको सम्भावना छ। उच्च पहाडी तथा हिमाली क्षेत्रका एक–दुई स्थानमा हल्का वर्षा र हिमपात पनि हुनसक्ने अनुमान गरिएको छ।
राति पनि कोशी र गण्डकी प्रदेशका पहाडी क्षेत्रमा आंशिकदेखि सामान्य बदली रहनेछ। यस्ता क्षेत्रहरूमा मेघगर्जनसहित हल्का वर्षा हुन सक्नेछ। साथै ती प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागमा हिमपातको सम्भावना रहेको छ।
मधेश, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भू-भागसहित पहाडी क्षेत्रका धेरै स्थानमा अधिकतम तापक्रममा वृद्धि हुने पूर्वानुमान छ।
मौसमको यस अवस्थाका कारण जनजीवन, कृषि, स्वास्थ्य, सडक तथा हवाई यातायातमा असर पर्न सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन विभागले आग्रह गरेको छ।
प्रतिक्रिया