काठमाडौं : हाल देशभर पश्चिमी वायु, स्थानीय वायु तथा बंगालको खाडी र अरब सागरबाट आएको जलवाष्पयुक्त हावाको संयुक्त प्रभावले मौसममा परिवर्तन देखिएको छ।
जल तथा मौसम विज्ञान विभागका अनुसार कोशी र बागमती प्रदेश लगायत पहाडी क्षेत्रहरूमा आंशिकदेखि सामान्य बदली रहेको छ भने अन्य स्थानहरूमा मौसम सामान्यतया सफा रहेको छ।
हाल कोशी र बागमती प्रदेशका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा भइरहेको छ। दिउँसो यी प्रदेशहरूमा विशेष गरी तराई क्षेत्रमा आंशिकदेखि सामान्य बदली रही कतिपय स्थानमा मेघगर्जन, चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।
रातिको समयमा बागमती प्रदेशका पहाडी भूभागहरूमा आंशिकदेखि सामान्य बदली रहनेछ भने थोरै स्थानमा मेघगर्जनसहित हल्कादेखि मध्यम वर्षा हुन सक्ने अनुमान गरिएको छ। तराई क्षेत्रहरूमा पनि यस्तै प्रकारको मौसम रहनेछ।
विभागले गर्मीका कारण र सम्भावित वर्षाबाट दैनिक जनजीवन, कृषि, स्वास्थ्य, सडक तथा हवाई यातायातमा प्रभाव पर्न सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन सर्वसाधारणलाई आग्रह गरेको छ।
प्रतिक्रिया