काठमाडौँ : पछिल्लो समय रक्सी पिउनु धेरैका लागि जीवनशैलीको हिस्सा बनिसकेको छ । विशेषतः पार्टी वा जमघटमा रक्सीलाई अनिवार्य झैँ लिइन्छ । तर, स्वास्थ्यमा समस्या देखिन थालेपछि धेरैले अचानक रक्सी त्याग्ने निर्णय पनि लिन्छन् । यस्तो अवस्थामा शरीरमा के असर पर्छ त ?
विशेषज्ञहरूका अनुसार, अचानक अत्याधिक रक्सी पिउन छोड्दा शरीरले डिटक्स प्रक्रिया सुरु गर्छ, जसका कारण केही शारीरिक र मानसिक असर देखिन सक्छन् ।
मानसिक असर: अचानक रक्सी छोड्दा चिडचिडापन, तनाव, चञ्चलता वा मानसिक असहजता महसुस हुन सक्छ ।
शारीरिक लक्षण: काँप्ने, पसिना आउने, बान्ता हुने, अनिद्राको समस्या आदि देखिन सक्छ ।
स्नायु प्रणालीमा असर: रक्सी शामकको रूपमा काम गर्ने भएकाले रक्सी छोड्दा स्नायु प्रणाली असन्तुलित हुन सक्छ, जसले निद्रामा समस्या ल्याउँछ ।
तर, यस्ता लक्षणहरू अस्थायी हुन्छन् र केही समयपछि शरीरले आफूलाई अनुकूल बनाउन थाल्छ । साथै, रक्सी छोड्नुका दीर्घकालीन फाइदाहरू निकै सकारात्मक हुन्छन् ।
मानसिक फाइदा: डिप्रेसन, चिन्ता कम हुन्छ र मस्तिष्क स्पष्ट रूपमा सोच्न थाल्छ ।
स्मरणशक्ति सुधार: ध्यान केन्द्रित गर्न सहज हुन्छ, स्मरणशक्ति बलियो हुन्छ ।
शारीरिक फाइदा: कलेजो पुनः मर्मत हुन्छ, छाला चम्किलो देखिन्छ, शरीर हाइड्रेटेड रहन्छ ।
रक्तचाप र पाचन सुधार: रक्सी छोड्दा रक्तचाप सन्तुलनमा आउँछ र पाचन क्रिया पनि सुधार हुन्छ ।
क्यान्सरको जोखिम कम: लगातार मदिरा सेवनले विभिन्न अंगहरूमा क्यान्सरको जोखिम बढाउँछ, जसको सम्भावना रक्सी त्यागेपछि घट्छ ।
यसैले, अचानक रक्सी छोड्दा केही असहजता भए पनि दीर्घकालीन फाइदा धेरै छन् । विशेषज्ञको सल्लाहमा र स्वास्थ्य अवस्थाअनुसार मदिरा त्याग्न सकेमा जीवनशैलीमा ठुलो सकारात्मक परिवर्तन ल्याउन सकिन्छ ।
प्रतिक्रिया