विराटनगर : कोशी प्रदेशसभाको बर्खे एवं सातौँ अधिवेशन आज ९आइतबार०देखि सुरु हुँदैछ । यो प्रदेशसभाको बजेट अधिवेशन पनि हो ।
प्रदेशसभाका कार्यवाहक सचिव गौतमराज अमात्यले सातौँ अधिवेशनको पहिलो बैठक प्रदेशसभा भवनमा दिउँसो २ बजेका लागि बोलाइएको जानकारी दिए । बैठकमा कोशी प्रदेश प्रमुख परशुराम खापुङको कार्यालयबाट प्राप्त पत्रबारे सदनमा जानकारी गराइने अमात्यले बताए ।
प्रदेशसभामा प्रतिनिधित्व गर्ने राजनीतिक दलले बैठकमा आ–आफ्नो धारणा राख्ने उनको भनाइ छ । प्रदेशसभा सचिवालयका अनुसार सरकारले ल्याएको प्रदेश ऐनलाई संशोधन गर्न बनेको अध्यादेश, २०८२ प्रदेशसभा बैठकमा टेबुल हुनेछ ।
कोशीमा नेकपा ९एमाले०को नेतृत्वमा सरकार छ । सरकारमा प्रमुख २ दल नेपाली कांग्रेस र एमाले सम्मिलित छन् । एमाले नेतृत्वको प्रदेश सरकारको कामकारबाहीप्रति पछिल्लो समय काँग्रेसले असन्तुष्टि व्यक्त गर्दै आएको छ ।
हालसम्म प्रदेशसभाले ल्याइएको ८३ मध्ये ६० वटा विधेयक प्रमाणित भइसकेका छन् । पछिल्लो पटक गत वर्ष फागुन २८ मा पर्यटन वन तथा वातावरण मन्त्रालयको कोशी प्रदेश प्रदेश वातावरण संरक्षण ऐन, २०७६ लाई संशोधन गर्न बनेको विधेयक, २०८१ र भौतिक पूर्वाधार विकास मन्त्रालयको प्रदेश भवन ऐन, २०७६ लाई संशोधन गर्न बनेको विधेयक प्रमाणित भएको थियो ।
प्रदेश सरकारको वैशाख २४ गते बसेको मन्त्रिपरिषद् बैठकले प्रदेशसभाको बर्खे अधिवेशनका लागि प्रदेश प्रमुख खापुङसमक्ष सिफारिस गरेको थियो । सरकारको सिफारिसका आधारमा प्रदेश प्रमुखले जेठ ४ गते ९आज०का लागि बैठक आह्वान गरेका हुन् ।
प्रतिक्रिया