सलमानको ‘कालो हरिण शिकार’ मुद्दाको सुनुवाइ जुलाई २८ मा, जेल जान सक्ने सम्भावना कायमै

आइतबार, ०४ जेठ २०८२

मुम्बई : ‘कालो हरिण शिकार’ प्रकरणमा बलिउड अभिनेता सलमान खानको कानुनी सङ्कट अझै टुंगोमा पुगेको छैन। बरु यो मुद्दा थप जटिल बन्दै गएको देखिन्छ।

सन् १९९८ मा फिल्म हम साथ साथ हैं को सुटिङका क्रममा जोधपुर नजिकैको कानकनी गाउँमा दुर्लभ कालो हरिणको अवैध शिकार गरेको आरोपमा सलमानसहित अन्य कलाकारहरूमाथि मुद्दा चलाइएको थियो।

राजस्थानको जोधपुरस्थित ट्रायल कोर्टले सन् २०१८ मा सलमानलाई दोषी ठहर गर्दै पाँच वर्ष कैद सजाय सुनाएको थियो। तर सह–आरोपी सैफ अली खान, तब्बु, नीलम, सोनाली बेन्द्रे र दुष्यन्त सिंहलाई शंकाको आधारमा सफाइ दिइएको थियो।

हालै राजस्थान उच्च अदालतमा यो मुद्दासम्बन्धी ‘लिभ–टु–अपील’ मा सुनुवाइ हुँदैछ, जसमा सफाइ पाएका अन्य कलाकारहरूमाथि पनि पुनर्विचार हुनसक्ने देखिएको छ। अधिवक्ता महिपाल बिश्नोईका अनुसार, सबै मुद्दालाई एउटै सुनुवाइमा समेट्ने आदेश न्यायाधीश मनोजकुमार गर्गको इजलासले दिएको छ।

अब यो मुद्दाको अन्तिमरुपमा सुनुवाइ आगामी जुलाई २८ मा हुनेछ, जहाँ सलमान खानको पाँच वर्षे जेल सजाय कायम रहने वा खारेज हुने निर्णय हुने सम्भावना छ। यदि अदालतले ट्रायल कोर्टको फैसलालाई सदर गरेमा सलमान खान फेरि जेल जान सक्ने जोखिम अझै टारिएको छैन।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार