काठमाडौँ : नेपालका २४ स्थानमा जमिन भासिने सम्भावना रहेको खानी तथा भूगर्भ विभाग र भौगर्भिक अध्ययनले देखाएको छ। २०५५ सालदेखि गरिएको अध्ययनका आधारमा तराई, मधेश र पहाडी जिल्लाहरूमा ‘सिङ्कहोल’ निर्माण हुने जोखिम बढ्दो छ।
हालै मात्र वैशाख १९ गते मकवानपुरको हेटौँडा–१६ स्थित गैरीगाउँमा सडकमै गुडिरहेको गाडी ११ मिटर गहिरो खाल्डोमा भासिएको थियो। भूगर्भविद् डा. नारायण अधिकारीका अनुसार गाडी हालसम्म पनि त्यसै दलदलमा फसेको छ। यस्ता घटनाका बावजुद अन्य जोखिमयुक्त स्थानहरूमा भने पर्याप्त चासो र सतर्कता देखिएको छैन।
खानी तथा भूगर्भ विभागका अनुसार जमिन भासिने खतरा रहेका मुख्य क्षेत्रहरूमा झापाको भद्रपुर र दमक, मोरङको विराटनगर, सुनसरीको धरान, सिन्धुली, धनुषाको जनकपुर, महोत्तरीको बर्दीबास र जलेश्वर, पर्साको वीरगन्ज, मकवानपुरको हेटौँडा, काठमाडौँ र नुवाकोट परेका छन्।
त्यसै गरी चितवनको भरतपुर, कास्कीको पोखरा, तनहुँको दमौली, रुपन्देहीका बुटवल र भैरहवा, दाङको तुलसीपुर, बाँकेको नेपालगञ्ज, बर्दियाको गुलरिया, सुर्खेत, कैलालीका टीकापुर र धनगढी तथा कञ्चनपुरको महेन्द्रनगर पनि सिङ्कहोलको सम्भावित जोखिममा रहेका क्षेत्र हुन्।
विभागले यी स्थानहरूमा पूर्वतयारी र सावधानी अपनाउन आग्रह गरेको छ।
सिङ्कहोल (Sinkhole) कसरी बन्छ ? जान्नैपर्ने भूगर्भीय रहस्य
वरिष्ठ भूगर्भविद् प्रा.डा मेघराज धितालका अनुसार, सिङ्कहोल भन्नाले जमिनको कुनै भागमा एक्कासि प्वाल पर्नुलाई जनाइन्छ । यसको मुख्य कारण भूगर्भभित्रको संरचना र पानीको प्रभाव हो ।
जब जमिनको माथिल्लो भाग कडा माटो वा चट्टानले बनेको हुन्छ तर तलको सतह नरम वा पानीमा घुलनशील चट्टान (जस्तै: चुनढुङ्गा) ले बनेको हुन्छ, त्यस्तो अवस्थामा जमिनमुनिको पानीले ती चट्टानहरू घोलेर बगाउँछ । यसले गर्दा मुनिको आधार खुकुलो बन्छ र एक समयमा आएर माथिल्लो भाग एक्कासी भासिन्छ ।
प्राडा धितालले उल्लेख गर्नुभएको छ कि पोखरा क्षेत्रमा सिङ्कहोलको जोखिम धेरै छ किनभने त्यहाँ चुनढुङ्गाका चट्टान, गुफा र भित्री च्यानलहरू धेरै छन् । यसकारण, बिना भूगर्भिक अध्ययन पोखरी निर्माण, सडक बनाउनेजस्ता कार्यले थप जोखिम निम्त्याउँछ ।
खानी तथा भूगर्भ विभागका महानिर्देशक मोनिका झाका अनुसार विभागले जोखिमयुक्त क्षेत्रहरूको पहिचान गरी स्थानीय तहमा सचेतना फैलाउने काम गरिरहेको छ । साथै, ती स्थानमा भौतिक संरचना निर्माण गर्दा विशेष सावधानी अपनाउन र सम्भव भएसम्म त्यस्ता संरचना नबनाउन आग्रह गरिएको छ ।
यसैले, सिङ्कहोल निर्माणको प्रक्रिया प्राकृतिक रूपमा हुने भए पनि मानव गतिविधिले जोखिम बढाउन सक्छ । सुरक्षित विकासका लागि भूगर्भीय अध्ययन अपरिहार्य छ ।
प्रतिक्रिया