सिरहा : युवा तथा खेलकुदमन्त्री बब्लु गुप्ताले देशमा मौलाएको नीतिगत भ्रष्टाचारकै कारण विकासका काम अघि बढ्न नसकेको बताएका छन्।
मन्त्री गुप्ताले आइतबार आफ्नो गृहजिल्ला सिरहाको लहानमा जेनजी समूहद्वारा आयोजित सम्मान तथा भेटघाट कार्यक्रममा बोल्दै शिक्षा, स्वास्थ्य, खेलकुदलगायतका क्षेत्रमा देखिएको विकास अवरोधको प्रमुख कारण नीतिगत भ्रष्टाचार भएको बताए।
“देशमा मौलाएको नीतिगत भ्रष्टाचारकै कारण जनतामा असन्तुष्टि र विद्रोहको भावना बढ्दै गएको छ,” मन्त्री गुप्ताले भने, “शिक्षा, स्वास्थ्य, खेलकुदजस्ता क्षेत्रहरूमा सुधार हुन नसक्नुको जड यही भ्रष्टाचार हो।”
उनीले जेनजी आन्दोलनलाई भ्रष्टाचार अन्त्य र रोजगारी सिर्जनाका मागमा केन्द्रित जनआन्दोलनका रूपमा व्याख्या गर्दै त्यसमा युवाहरूले दिएको बलिदानको प्रसंसा गरे। “यो आन्दोलनले युवाको आवाज र चाहना स्पष्ट देखाएको छ,” उनले थपे, “अब सरकारले युवाको सोच र आकांक्षाअनुसार नीति बनाउने समय आएको छ।”
लहानमा खेलकुद क्षेत्रका पुराना विवाद र नीतिगत अनियमितताबारे पनि मन्त्री गुप्ताले टिप्पणी गरे। उनले बलान पुल नजिकको लहान खेलकुदको सात बिघा पाँच कट्ठा १७ धुर जग्गा उचित मूल्यांकनबिना उपयोगमा ल्याइएको भन्दै त्यसमा समेत नीतिगत भ्रष्टाचार भएको दाबी गरे। “यो प्रकरणको फाइल म आफैंले खोजी गरिरहेको छु,” मन्त्री गुप्ताले भने।
गृहजिल्ला भ्रमणका क्रममा मन्त्री गुप्ताले लहान–१५ स्थित जेनजी सहिद विजय चौधरीको परिवारसँग पनि भेटघाट गरे। उनले सहिद परिवारलाई बेवास्ता गर्न नहुने र सहिदका सपना पूरा गर्ने दिशामा सरकार सक्रिय रहने प्रतिबद्धता व्यक्त गरे।
मन्त्री गुप्ताले आगामी दिनमा सिरहाको खेलकुद पूर्वाधार निर्माण र युवा कार्यक्रमका लागि विशेष पहल गर्ने आश्वासनसमेत दिएका छन्।
प्रतिक्रिया