काठमाडौँ : अभियन्ता ईईःले गृहमन्त्री ओमप्रकाश अर्याललाई हटाउन काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाहलर अभियान चलाउनुको कारण सार्वजनिक गरेका छन्।
प्रधानमन्त्री सुशीला कार्कीलाई भेटेर अर्याललाई हटाउन दबाब दिएपछि बालेन समूहले सामाजिक सञ्जालबाट पनि ट्रेडिङ सुरु गरेको छ ।
आफ्नै सल्लाहकार भए पनि चाहनाविपरीत गृहमन्त्री बनेका अर्याललाई पदमुक्त गराएर काठमाडौँ महानगरपालिकाका नगर प्रहरी प्रमुख राजु पाण्डे वा मीरा चौधरीलाई गृहमन्त्री बनाउन बालेन लागिपरेको ईईःको दाबी छ।
ईईःले गृहमन्त्री फेर्न खोज्दा प्रधानमन्त्री कार्कीकै पद जाने सम्भावना रहेको र त्यो जेनजी आन्दोलनप्रति धोका हुने चेतावनी पनि उनले दिएका छन्।
उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘उनको सट्टा प्राथमिकतामा राजु पाण्डे, नभए समावेशिताका लागि मीरा चौधरीलाई गृहमन्त्री बनाउन बालेन र उनका आसपासकाले हरसम्भव प्रयास गरेकै हुन्। अहिले पनि गर्दैछन्। गृहमन्त्री कमीकमजोरी रहित व्यक्ति होइनन्। तर सारथी फेरिए भने प्रधानमन्त्री पनि फेरिने परिस्थिति विकशित हुनसक्छ। यहाँ ठूलो भूराजनीतिक र स्थानीय शक्तिप्रतिष्पर्धा चल्दैछ। अधिकांश पक्षको आन्तरिक चाहना अस्पष्ट छ। के नवयुवाको रगत यसैको लागि बगेको हो? कस्तो बिडम्बना कस्तो निर्लज्जता।’

प्रतिक्रिया