मोरङमा गाँजा ओसारपसारमा संलग्नलाई पक्राउ गर्न हवाई फायर, ३३० किलो गाँजासहित दुई जना भारतीय पक्राउ

आइतबार, १३ पुस २०८२
Filephoto

विराटनगर । नेपाल–भारत सीमा क्षेत्रअन्तर्गत मोरङको जहदामा गाँजा ओसारपसारमा संलग्नलाई नियन्त्रणमा लिने क्रममा प्रहरीले हवाई फायर गर्दै दुई जना भारतीय नागरिकलाई पक्राउ गरेको छ । 

शनिबार राति करिब साढे १० बजे जहदा गाउँपालिका–२ तारिगामा नेपालबाट भारततर्फ गाँजा लैजाँदै गरिएको अवस्थामा ३३० किलो गाँजासहित उनीहरू पक्राउ परेका हुन् । गाँजा ओसारपसार भइरहेको गोप्य सूचना पाएपछि मोरङ प्रहरी प्रमुख एसपी कवित कटवालले जिल्ला प्रहरी कार्यालय मोरङबाट इन्स्पेक्टर सरोज खनालको नेतृत्वमा टोली परिचालन गरेका थिए । 

प्रहरी पुग्दा केही व्यक्तिहरू टाउकोमा गाँजाका बोरा बोकेर सीमा पार गराउने प्रयासमा थिए  ।  प्रहरी देख्नासाथ तस्करीमा संलग्न समूहले गाँजाका बोरा छाडेर भाग्ने प्रयास गरेपछि नियन्त्रणमा लिन प्रहरीले ठूलो चाइनिज पेस्तोलबाट एक राउण्ड हवाई फायर गरेको हो । 

त्यस क्रममा भारतको अररिया चन्दामोहनका २४ वर्षीय अबुल हसन र ३० वर्षीय सोहेल खानलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ परेका दुवै जनालाई बरामद गरिएको ३३० किलो गाँजासहित जिल्ला प्रहरी कार्यालय मोरङमा राखिएको छ । 

उनीहरूमाथि लागुऔषध ऐनअन्तर्गत मुद्दा दर्ता गर्ने तयारी भइरहेको र घटनाबारे थप अनुसन्धान अघि बढाइएको एसपी कटवालले जानकारी दिए । प्रहरीका अनुसार पूर्वी पहाडी जिल्लामा उत्पादन हुने गाँजा सुरक्षाकर्मीलाई छल्दै भारत लैजाने प्रयास बारम्बार भइरहेको छ । 

भारतमा मूल्य दोब्बर पर्नेसमेत कारणले तस्करी बढ्दै गएको प्रहरीको भनाइ छ । सीमावर्ती क्षेत्रमा लागुऔषध कारोबारविरुद्ध निगरानी र कारबाही अझ कडा बनाइने एसपी कटवालले बताए ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार