भारत र पाकिस्तानबीच भएको युद्धमा खर्च कति भयो ?

आइतबार, ०४ जेठ २०८२

७ मे २०२५ तारिखमा शुरु भएको भारत–पाकिस्तानबीचको सैन्य संघर्ष करिब ९० घण्टासम्म चल्यो । अहिले दुवै देश संघर्ष विरामको अवस्थामा छन् । तथापि, केही छिटफुटका घटना भने जारी रहेको छ । भारत भर्खरै विश्वको चौथो ठूलो अर्थतन्त्र भएको देश बनेको छ भने दुवै देश विश्वमा उच्च हतियार आयातकर्ता र आणविक शक्ति सम्पन्न राष्ट्र हुन् ।

रुस–युक्रेन तथा इजरायल–प्लेस्टाइन सैन्य संघर्षले उनीको अर्थतन्त्र धवस्त भइरहेको तथा विश्व अर्थतन्त्र नै प्रभावित भइरहेक बेला भारत–पाकिस्तानबीचको उक्त सैन्य संघर्षलाई लिएर विश्वभर चिन्ता प्रकट गरिएको थियो । विदेशमा निर्मित हतियार, मिसाइल, ड्रोन तथा लडाकु जहाज प्रयोग गरिएको सैन्य संघर्षलाई छोटो तर अन्यन्तै महँगो सैन्य संघर्षका रुपमा परिभाषासमेत गर्न थालिएको छ । युद्ध आफैंमा महँगो हुन्छ । यद्यपि, भारत–पाकिस्तानको युद्धमा कति खर्च भए होला भन्ने चासो विश्वव्यापी छ ।

सैन्य संघर्षमा दुवै देशको ठ्याक्कै खर्चको विवरण सार्वजनिक भएको छैन । तथापि, यस युद्धमा दुवैले ठूलो आर्थिक भार व्यहोरेको भने सहजै अनुमान लगाउन सकिन्छ । छोटो समयमै भारत र पाकिस्तानले सयौं मिलियन डलर खर्च गर्न बाध्य भएका छन् । यसले दुवै देशमा पुगेको मानवीय एवम् भौतिक र यसले पार्ने समाजिक, आर्थिक क्षेत्रमा गहिरो प्रभाव पर्ने विश्लेषण अर्थ एवम् समाजशास्त्रीहरूको छ ।

यस युद्धका कारण दुवै देशको आर्थिक वृद्धिदरमा उच्च गिरावट, विदेशी लगानीमा कमी र व्यापारमा अवरोधहरू देखा पर्ने अर्थशास्त्रीहरुको विश्लेषण छ । सैन्य विश्लेषकहरुले विभिन्न स्रोतहरूबाट प्राप्त तथ्यांकका आधारमा दुवै देशको खर्च अनुमान गरिएको छ ।

भारतको प्रत्यक्ष सैन्य खर्च
भारतले ‘अप्रेसन सिन्दुर’ शुरू गर्दा दैनिक सैन्य खर्च प्रत्यक्ष १,४६० करोडदेखि ५,००० करोड भारु (अन्दाजी १७५ मिलियनदेखि ६०० मिलियन डलर) खर्च गरेको अनुमान गरिएको छ । त्यस्तै भारतीय वायु सेनाले दैनिक करिब १०० उडानहरू सञ्चालन गरेको थियो, जसको प्रत्येक उडान लागत लगभग ८० हजार डलर अनुमान गरिएको छ । प्रिसिजन–गाइडेड म्युनिसनहरूमा स्क्याल्प ईजी स्पाइस २०००, ह्यामर प्रयोग गरिएको थियो, जसको लागत १००,००० डलर देखि १.१ मिलियन डलरसम्म लाग्ने जनाइएको छ ।

यसैगरी ड्रोन र मिसाइल प्रयोगमा हारोप, स्काईस्ट्राइकर र अन्य ड्रोनहरूको प्रयोग तथा ब्रह्मोस र प्रलय मिसाइलहरूको प्रक्षेपण गर्दा दैनिक १५० मिलियन डलरसम्मको खर्च भएको अनुमान गरिएको छ। वायु रक्षा प्रणालीअन्तर्गत एस–४००, आकाश र बराक–८ जस्ता वायु रक्षा प्रणालीहरूको सञ्चालनमा दैनिक २० मिलियन डलर खर्च भएको अनुमान गरिएको छ ।

आर्थिक प्रभाव
यस युद्धको कारण भारतको जीडीपी वृद्धिदर ३ प्रतिशतसम्म घट्न सक्ने अनुमान गरिएको छ । साथै युद्धको जोखिमका कारण विदेशी लगानीमा १० देखि १५ अर्ब डलरसम्मको गिरावट आउन सक्ने सम्भावना छ ।

पाकिस्तानको प्रत्यक्ष सैन्य खर्च
भारतको आक्रमणबाट पाकिस्तानमा कति क्षति पुग्यो भन्ने नखुलेको भए पनि हवाई आक्रमणहरू र ड्रोन सञ्चालनमा पाकिस्तानले प्रत्यक्ष सैन्य खर्चमा दैनिक २५ मिलियन डलर खर्च गरेको अनुमान गरिएको छ । त्यस्तै सीमा सुरक्षा, रडार प्रणाली र अन्य तयारीहरूमा दैनिक १५ मिलियन डलर खर्च भएको अनुमान गरिएको छ ।

आर्थिक प्रभाव
युद्धको कारण पाकिस्तानको जीडीपीमा २५ अर्ब डलरसम्मको घाटा हुन सक्ने अनुमान गरिएको छ । साथै युद्धको जोखिमका कारण विदेशी लगानीमा ५ देखि १० अर्ब डलरसम्मको गिरावट आउन सक्ने सम्भावना छ ।

( समाचार एजेन्सीहरुको सहयोगमा)

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार