काठमाडौं : हाल देशभर पश्चिमी वायु, स्थानीय वायु र बंगालको खाडी तथा अरब सागरबाट आएको जलवाष्पयुक्त हावाको प्रभाव रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
यसका कारण देशको अधिकांश पहाडी भू-भागमा आंशिकदेखि साधारणतया बदली रहँदा बाँकी भू-भागमा मौसम मुख्यतः सफा वा आंशिक बदली रहेको छ।
कोशी, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी क्षेत्रमा अहिले केही स्थानहरूमा मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षा सम्भावना रहेको छ ।
दिउँसो कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशसहितका पहाडी क्षेत्रमा आंशिकदेखि साधारण बदली रहनेछ भने अन्य भू-भागमा आंशिक बदली रहनेछ।
पहाडी क्षेत्रमा थोरै स्थानहरूमा र बाँकी भू-भागका एकदुई स्थानमा मेघगर्जनसहित हल्कादेखि मध्यम वर्षा हुनसक्ने सम्भावना रहेको छ। उच्च पहाडी तथा हिमाली क्षेत्रका केही स्थानहरूमा हल्का वर्षा र हिमपात पनि हुने अनुमान गरिएको छ। तराईका केही भू-भागमा हावाहुरी चल्न सक्ने महाशाखाले जनाएको छ।
राति पनि कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशसहित पहाडी क्षेत्रमा आंशिकदेखि साधारण बदली रहनुका साथै थोरै स्थानहरूमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। उच्च पहाडी क्षेत्रमा वर्षा र हिमपातको सम्भावना कायमै छ।
महाशाखाले गर्मी, वर्षा, चट्याङ्ग र हावाहुरीका कारण दैनिक जनजीवन, कृषि, स्वास्थ्य, सडक तथा हवाई यातायात प्रभावित हुन सक्ने भन्दै आवश्यक सतर्कता र तयारी अपनाउन आग्रह गरेको छ।
प्रतिक्रिया