इटहरी आउँदै गरेको ईभी गाडीबाट १२ किलो गाँजा बरामद, चालकसहित दुई जना पक्राउ

आइतबार, ११ जेठ २०८२

विराटनगर । धनकुटाको हिलेबाट सुनसरीको इटहरीतर्फ आउँदै गरेको यात्रुवाहक ईभी गाडीबाट लागुऔषध गाँजा फेला परेपछि चालकसहित दुई जना पक्राउ परेका छन्। 

प्रदेश १–०२–००१ ज ४५७५ नम्बरको यात्रुवाहक गाडीलाई इलाका प्रहरी कार्यालय भेडेटारबाट खटिएको प्रहरी सई रमेश प्रधान नेतृत्वको टोलीले आइतबार बिहान ७ः५० बजे साँगुरीगढी गाउँपालिका–६ स्थित भेडेटारमा खानतलासी गरेको थियो ।

गाडीको सिटमुनि कालो झोलामा राखिएको अवस्थामा १२ किलोग्राम गाँजा फेला परेको धनकुटा प्रहरीका निमित्त प्रवक्ता इन्स्पेक्टर ध्रुवनारायण श्रेष्ठले जानकारी दिए।

गाँजा गाडीमा सवार सहिदभूमि गाउँपालिका–६ निवासी अन्दाजी १९ वर्षीय प्रवेश राई बसेको सिटमुनि फेला परेको हो। राईलाई नियन्त्रणमा लिएको छ । झोलाबाट गाँजा फेला परेपछि प्रहरीको टोलीले राईसहित गाडी चालक धनकुटा नगरपालिका–१ हिलेका ३९ वर्षीय दिनेश तामाङलाई समेत नियन्त्रणमा लिएको छ।

प्रहरीका अनुसार पक्राउ परेकाविरुद्ध लागुऔषध ऐनअनुसार मुद्दा दर्ता गरी अनुसन्धान अघि बढाइएको छ।

धरानबाट ८० किलो गाँजा  बरामद 

यसैबीच, धरान उपमहानगरपालिका–१५ देवीगाउँबाट प्रहरीले थप ८० किलो गाँजा बरामद गरेको छ। विशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय धरानबाट खटिएको टोलीले शनिबार राति ८ः४५ बजे प्र १–०२–०४४ प ४३२० नम्बरको मोटरसाइकल जाँच गर्दा ४ वटा बोरामा प्याक गरी राखिएको गाँजा फेला परेको हो।

सुनसरी प्रहरी प्रमुख एसपी सुमनकुमार तिम्सिनाका अनुसार करिब ८० किलो गाँजा लोड गरेर लैजाँदै गरेको अवस्थामा मोटरसाइकलसहित धनकुटा चौबिसेका २० वर्षीय अर्जुन लिम्बू पक्राउ परेका छन्। लिम्बूले गाँजा कहाँबाट ल्याएका हुन् भन्ने विषयमा अनुसन्धान जारी रहेको र उनीविरुद्ध पनि लागुऔषध ऐनअनुसार मुद्दा अघि बढाइने प्रहरीले जनाएको छ।
 

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार