ओखलढुङ्गा: चालु आर्थिक वर्षमा ओखलढुङ्गा, सोलुखुम्बु र खोटाङ जिल्लाका चार सय युवाले सीपमूलक तालिम लिएका छन्। व्यावसायिक तथा सीप विकास तालिम केन्द्र ओखलढुङ्गाले विभिन्न १५ प्रकारका तालिम सञ्चालन गरी युवालाई सीप सिकाएको हो।
केन्द्रका प्रमुख जितेन्द्र राईका अनुसार नियमित तथा विशेष कार्यक्रमअन्तर्गत आधारभूत कम्प्युटर, कटाइ–सिलाइ, कुक, केश शृङ्गार, ढाका बुनाइ, विद्युत् जडान, सेक्युरिटी गार्ड, वेटर, मोबाइल मर्मत र कम्प्युटर डिप्लोमा लगायतका तालिम सञ्चालनमा छन्।
'हामीले सीप सिकाएका युवालाई अनिवार्य उद्यमी बन्न प्रेरित गरेका छौँ। उनीहरूलाई आत्मनिर्भर बनाउन थप क्षमता विकास कार्यक्रम पनि ल्याउने योजना छ,' प्रमुख राईले भने ।
यस वर्ष केन्द्रले ७४ लाख ६४ हजार बजेटको अख्तियारीमा तालिम सञ्चालन गरिरहेको छ। अघिल्लो आर्थिक वर्ष २०८०र८१ मा केन्द्रले तीन वटै जिल्लाका ६८८ युवालाई सीपमूलक तालिम दिएको थियो।
यद्यपि, सीप सिक्नेहरूको सङ्ख्या उच्च भए पनि व्यावसायिक रूपमा परिणत हुनेहरूको सङ्ख्या भने कम रहेको केन्द्रले जनाएको छ।
केन्द्रका अनुसार स्वरोजगार र आत्मनिर्भरता विकासका लागि सरकारले सञ्चालन गरिरहेका यस्ता तालिमले दीर्घकालीन प्रभाव पार्न सक्ने अपेक्षा गरिएको छ।
प्रतिक्रिया