पाँच प्रदेशमा बिहानैदेखि वर्षा, दिउँसो कस्तो रहला मौसम ?

सोमबार, १२ जेठ २०८२

काठमाडौँ : हाल देशमा पश्चिमी तथा स्थानीय वायुको प्रभाव रहेको मौसमविद्ले जनाएका छन् । साथै बङ्गालको खाडी र अरब सागरबाट आएको जलवाष्पयुक्त हावाको समेत आंशिक प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

यसको प्रभावले बिहान कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा वर्षा भइरहेको छ । महाशाखाको वेभसाइटमा उल्लेख भए अनुसार झापाको शनिश्चरे र इलामको बरफल्याङमा एक घण्टामा ५ मिलिमिटर वर्षा भएको छ ।

ललितपुरको टिकाथली, कास्कीको ज्यामिरे बारी, सुर्खेतको रातानांग्लामा पनि छिटपुट वर्षा भएको छ । कैलालीको धनगढीमा पछिल्लो एक घण्टामा ११.६ मिलिमिटर वर्षा मापन भएको छ । त्यस्तै कञ्चनपुरको दोधारामा १०.२ र कृष्णपुरमा ८.६ मिलिमिटर वर्षा मापन भएको छ ।

दिउँसो कोशी प्रदेश, मधेस प्रदेश र बागमती प्रदेश लगायत देशका पहाडी भू-भागमा आंशिकदेखि साधरणतया बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफादेखि आंशिक बदली रहने पूर्वानुमान छ ।

कोशी प्रदेश, मधेस प्रदेश, बागमती प्रदेश लगायत देशका पहाडी भू-भागका थोरै स्थानहरूमा र बाँकी भू-भागका एक-दुई स्थानमा मेघ गर्जन/चट्याङ सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

देशको उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का वर्षा/हिमपातको सम्भावना पनि रहेको महाशाखाले जारी गरेको सूचनामा उल्लेख छ ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार