इटहरी : २५ वर्षदेखि सञ्चालनमा रहेको इटहरीको पहिलो २४ घण्टे सामुदायिक अस्पताल आन्तरिक मतभेद र आर्थिक सङ्कटको कोप भाजनमा परेको छ ।
अगुवाहरूले जनही २५ हजार रुपैयाँ सङ्कलन गरेर २०५५ सालदेखि सुरु गरेको अस्पताल अहिले आफैँ थला परेको हो । कुनै समय इटहरीमा अत्याधुनिक सेवा दिने अग्रणी स्वास्थ्य संस्थाको रूपमा स्थापित सामुदायिक अस्पताल अहिले थिलथिलो बनेको छ ।
सहकारी संस्था मार्फत सञ्चालित अस्पतालमा हाल १ सय २६ जना सेयर सदस्यहरू रहेका छन ।
निजीस्तरमा पहिलो पटक एक्स–रे, भिडियो एक्स–रे तथा स्त्रीरोगका सघन शल्यक्रिया सेवा सञ्चालन गर्दै आएको अस्पतालले आफ्नै भवनसमेत निर्माण गरिसकेको थियो। सुरुका दिनहरूमा अत्यन्तै प्रभावकारी सेवा दिँदै आएको अस्पताल पछिल्लो २ वर्षयता सङ्कटमा फसेको छ ।
कमजोर व्यवस्थापनका कारण दुई वर्षयता अस्पतालले राम्रो सेवा प्रवाह गर्न सकिरहेको छैन । बिरामीहरूको चाप घट्दै गइरहेको छ। कुनै समय बिरामीको चाप थेगिनसक्नु हुन्थ्यो । अहिले दैनिक थोरै सङ्ख्यामा मात्रै बिरामी आउने गरेका छन् ।
२०७१ सालमा आमा सुरक्षा कार्यक्रममा फर्जी डेलिभरी बनाएर बिल समेत नक्कली देखाई पैसा समेत लिएको आरोप आएपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोग कार्यालयले अस्पताललाई जरिवाना समेत गरेको थियो।
प्रभावकारी चिकित्सकीय सेवा अभाव र व्यवस्थापन पक्ष लथालिङ्ग हुँदा अस्पतालको भविष्य अनिश्चित बनेको छ । आर्थिक सङ्कटमा फसेको अस्पतालले दर्जनभन्दा बढी कर्मचारी कटौती गरेको छ । बाँकी कर्मचारीले पनि समयमै तलब पाउन सकिरहेका छैनन् ।
एक जना स्टाफ नर्सले काम छाडेको पाँच महिना बितिसक्दा पनि अस्पतालले दिएको चेक साट्न नसकिएकाले समस्या भइरहेको गुनासो गरिन् । अस्पताल सामुदायिक स्वास्थ्य सेवा सहकारी लिमिटेडले सञ्चालन गर्दै आएको छ । लिमिटेड आफैँ आर्थिक तथा प्रशासनिक हिसाबले थला परेको बताइन्छ ।
राजमार्गनजिकै र भौगोलिक दृष्टिले अत्यन्तै उपयुक्त स्थानमा रहेको यो अस्पताल सञ्चालकहरूको आपसी मनमुटाबका कारण समस्यामा परेको हो । बिरामीले प्रभावकारी उपचार पाउन सक्ने अवस्था छैन । फलस्वरूप, उपचारका लागि आउने बिरामीहरू अहिले धरान, विराटनगर वा अन्य निजी स्वास्थ्यमा संस्थामा जान बाध्य छन् ।
इटहरी–२ हलगडाका रुक्मणि निरौलाले पहिले बच्चा बिरामी पर्दा यही अस्पतालमा उपचार गराउने गरेको सुनाइन् । तर, अहिले डाक्टर नआउने अवस्था रहेको उनको भनाइ छ । ‘पहिले राम्रा डाक्टर थिए । सेवा पनि गुणस्तरीय र प्रभावकारी थियो । अहिले त जतिसुकै गाह्रो परे पनि धरान लैजान्छु । सामुदायिकमा राम्रो सेवा नै छैन,’ निरौलाले भनिन् ।
अस्पतालका प्रबन्ध निर्देशक तथा कम्पनी सचिव हेमबहादुर गुरुङले भने इटहरी सामुदायिक अस्पताल बन्द भएको भन्ने हल्ला पूर्ण रूपमा निराधार भएको बताए । अस्पतालमा केही आन्तरिक समस्या रहे पनि त्यसलाई अतिरञ्जित गर्दै बजारमा अफवाह फैलाएर झुटको खेती गर्ने काम भइरहेको उनको भनाइ छ ।
अस्पताल बन्द नभएको बताउँदै गुरुङले भने, ‘हामीले अस्पताल बन्द गरेका छैनौं । सेवा दिइरहेका छौँ । पहिले एक्लै हुँदा पनि रातिको समयमा सुईसम्म लगाउन सेवा नपाउँदा, हामीले आफ्नै प्रयासमा सेवा सञ्चालन गरेका थियौँ ।’
अहिले इटहरीमा २४ घण्टा सेवा दिने अन्य अस्पतालहरू खुलेपछि आफ्नो संस्थालाई व्यवस्थित रूपमा अघि बढाउन ५ कठ्ठा क्षेत्रफलमा नयाँ भवन निर्माणको योजना बनाइएको जानकारी गुरुङले दिए। उनका अनुसार कोभिड महामारीका कारण केही समय अस्पतालको आर्थिक कारोबारमा समस्या आएको हो ।
तर, बैङ्कको किस्ता र ब्याज नियमित रूपमा तिरिरहेको उनले बताए । आगामी आर्थिक वर्षदेखि नयाँ ढङ्गले सेवा दिने योजनासहित अघि बढ्ने तयारी भइरहेको उनी बताउँछन् । गुरुङका अनुसार अस्पतालले अब ट्रमा सेन्टरजस्तै नयाँ मोडलमा सेवा दिनेछ । एक महिनाभित्र नयाँ स्वरूपमा सञ्चालनमा ल्याउने लक्ष्य रहेको उनले बताए ।
अस्पताल व्यवस्थापन उपसमितिका संयोजक तथा संस्थाका पूर्व उपाध्यक्ष टङ्क दुलालले पनि अस्पताल नयाँ ढङ्गले पुनः सञ्चालनको तयारी भइरहेको बताएका छन्। उनका अनुसार ‘इटहरी सामुदायिक अस्पताल प्रा.लि’ नामक नयाँ कम्पनीको रूपमा दर्ता प्रक्रिया अघि बढाइएको छ। डा. डिल्ली रिजनलको नेतृत्वमा नयाँ व्यवस्थापन टोलीमार्फत अस्पताललाई नयाँ ढाँचामा अगाडि बढाइने जानकारी दुलालले दिए।
संस्थाका दुवै प्रतिनिधिहरूले अस्पताल बन्द भएको हल्ला सरासर अफवाह मात्र भएको बताए । जनतालाई अझ सुलभ, प्रभावकारी तथा गुणस्तरीय सेवा दिन नयाँ योजनाका साथ अघि बढ्ने प्रतिबद्धता उनीहरूले व्यक्त गरेका छन्।
स्थानीयस्तरमा सुरु गरिएको उदाहरणीय स्वास्थ्य संस्था अहिले आफ्नै कमजोरी र नेतृत्वको अभावले सङ्कटमा परेको हो । यसलाई पुनर्जीवन दिन स्थानीय तह, सरोकारवालाहरू र समुदायबिच समन्वय आवश्यक रहेको सरोकारवाला बताउँछन् ।
प्रतिक्रिया