बाजुरा : बाजुराको बुढीगङ्गा नगरपालिका–६ स्थित बाम्का बजारमा ग्यास सिलिण्डर विस्फोटबाट भएको आगलागीका पीडितलाई तत्काल राहत उपलब्ध गराउन सरकारसँग माग गरिएको छ। नवदुर्गा होटलमा शुक्रबार दिउँसो खाना पकाउने क्रममा ग्यास सिलिण्डर पड्किएर सुरु भएको आगलागीमा ३० वटा टिनले छाएका खुद्रा तथा कपडाका पसल पूर्ण रूपमा नष्ट भएका छन्।
प्रहरी नायव उपरीक्षक इकवाल हवारीका अनुसार आगलागीबाट करोडौँ रुपैयाँ बराबरको क्षति भएको छ। जिल्ला विपद् व्यवस्थापन समितिका संयोजक तथा प्रमुख जिल्ला अधिकारी मेघनाथ पाध्याको नेतृत्वमा एक टोलीले घटनास्थलको अवलोकन गरी तत्काल राहतका लागि प्रदेश र संघीय सरकारसँग माग गर्ने निर्णय लिएको हो।
सरोकारवालाहरूको आकस्मिक बैठकले पीडितको क्षतिको विस्तृत विवरण सङ्कलन गरी एकद्वार प्रणालीमार्फत राहत वितरण गर्ने निर्णयसमेत गरेको छ। सो बैठकमा बुढीगङ्गा नगरप्रमुख रामबहादुर बानियाँ, बडीमालिका नगरप्रमुख अमरबहादुर खड्का, पूर्व सांसद लालबहादुर थापा लगायत सहभागी थिए।
आगलागी नियन्त्रणका लागि जिल्लाका ९ वटै पालिकामा दमकल अभाव रहेको जनाइएको छ। गाडी भए पनि दमकल नभएको अवस्थाले आपत् व्यवस्थापन चुनौतीपूर्ण बनाएको छ। अबको चरणमा जिल्ला विपद् व्यवस्थापन समिति, विपद् प्राधिकरण, प्रदेश सरकार, स्थानीय तह र विभिन्न संघसंस्थासँग समन्वय गरी राहत र पुनःस्थापना कार्य अघि बढाइने जनाइएको छ।
प्रतिक्रिया