काठमाडौँ : नेपाल प्रहरीले अख्तियार दुरूपयोग अनुसन्धान आयोगको उपसचिव हुँ भन्दै विभिन्न व्यक्तिलाई धम्काउने एक जनालाई पक्राउ गरेको छ।
प्रहरी वृत्त बालाजुले आज जानकारी दिए अनुसार, काठमाडौँको तारकेश्वर नगरपालिकामा डोटी घर भई फुटुङ बस्ने ३७ वर्षीय ऐभानबहादुर महरालाई पक्राउ गरिएको हो। उनले किर्ते कागज प्रयोग गरी आफू अख्तियारको उपसचिव भएको दाबी गर्दै नागरिकलाई धम्काउने काम गर्दै आएका थिए।
प्रहरी उपरीक्षक पवनकुमार भट्टराईका अनुसार, महरालाई तारकेश्वर नगरपालिका–९ टुसालचोकबाट पक्राउ गरिएको हो। उनी राष्ट्रिय वाणिज्य बैंकका पूर्व कर्मचारी हुन्।
पक्राउको क्रममा प्रहरीले महरासँग विभिन्न सरकारी कार्यालय र मन्त्रीको सचिवालयमा प्रयोग हुने झैँ लेखिएको लेटरप्याडहरू बरामद गरेको छ। यीमध्ये तीन थान “माननीय राज्यमन्त्रीको सचिवालय, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबार” र तीन थान “नेपाल सरकार, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबार” लेखिएको थियो।
त्यस्तै, “नेपाल सरकार, उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय” लेखिएको लेटरप्याड, अङ्कित सेक्युरिटि सर्भिस प्रालि इचङ्गुनारायण काठमाडौँ लेखिएको लेटरप्याड, विभिन्न बैंकको स्टेटमेन्ट, एटिएम, चेकबुक, रेकर्ड राखिएको डायरी र राष्ट्रिय वाणिज्य बैंक लिमिटेडको परिचयपत्र पनि बरामद गरिएको छ।
प्रतिक्रिया