विराटनगर : कोशी प्रदेशमा यस वर्ष लम्पी स्कीन रोगका कारण एक हजार ११६ वटा चौपायाको मृत्यु भएको छ। यो तथ्यांक पशुपन्छी तथा मत्स्य विकास निर्देशनालय, सुनसरी–धरानले सार्वजनिक गरेको हो।
निर्देशनालयका अनुसार प्रदेशका तीन लाख ९४ हजार ५८५ चौपायामध्ये तीन लाख १५४ मा लम्पी स्कीन रोगको संक्रमण देखिएको छ। भाइरसबाट फैलिने यो रोग मुख्यतः गर्मी र बर्सातको समयमा व्यापक रूपमा देखा परेको हो।
निर्देशनालयका पशु चिकित्सक पुरुषोत्तम पाण्डेका अनुसार समयमै खोप अभियान सञ्चालन गरेर रोगलाई नियन्त्रणमा लिन सफल भएको हो। “लम्पी स्कीन विरुद्ध सुई लगाइएपछि रोगको फैलावट घटेको छ,” पाण्डेले बताए।
कोभिड महामारीका बेला अष्ट्रेलियाबाट नेपालमा प्रवेश गरेको यो रोग यस वर्ष कोशी प्रदेशका सोलुखुम्बु बाहेक सबै जिल्लामा फैलिएको थियो। तर पाँचथर र तेह्रथुममा कुनै चौपायाको मृत्यु नभएको निर्देशनालयले जनाएको छ।
गाईभैँसीमा लाग्ने यो रोग लागेपछि जनावरको शरीरमा गिर्खा जस्तो फोका देखिनु, ज्वरो आउनु, घाउ फुट्नु, तौल घट्नु र शरीर कमजोर हुनेजस्ता लक्षण देखिने गर्छ।
प्रतिक्रिया