काठमाडौँ : सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेल गणतन्त्र कोरियाको सिओलमा आयोजना हुने ११औँ ‘ग्लोबल आइसिटी लिडरसिप फोरम’मा सहभागी हुन आज त्यसतर्फ प्रस्थान गरेका छन्।
कोरियाको विज्ञान तथा आइसिटी मन्त्रालय र नेशनल इनफर्मेशन सोसाइटी एजेन्सीको संयुक्त आयोजनामा यही कात्तिक २६ गते (नोभेम्बर १२) देखि सुरु हुने फोरममा मन्त्री खरेलले नेपालका तर्फबाट सहभागिता जनाउने भएका छन्।
फोरममा “डिजिटल र एआई ट्रान्सफर्मेसन : स्ट्राटेजिज एन्ड च्यालेन्ज” तथा “ग्लोबल कोअपरेशन फर सस्टेनेबल डिजिटल फ्युचर” शीर्षकमा दुई सत्र सञ्चालन हुने छन्। डिजिटल रूपान्तरण र कृत्रिम बुद्धिमत्ताको प्रभावबाट दिगो विकास लक्ष्य हासिल गर्ने विषयमा केन्द्रित फोरममा नेपाल, भुटान, श्रीलङ्का, पाकिस्तान, कम्बोडिया, लाओस, भियतनाम, काजकिस्तान, मङ्गोलिया र उजबेकिस्तानका मन्त्री तथा उच्च अधिकारीहरू सहभागी हुनेछन्।
एसिया–प्रशान्तका लागि संयुक्त राष्ट्रसंघीय आर्थिक तथा सामाजिक आयोग र अन्य अन्तर्राष्ट्रिय निकायका प्रतिनिधिहरू पनि उपस्थित रहने जनाइएको छ।
मन्त्री खरेलसँगै स्वकीय सचिव उद्धव भट्टराई पनि कोरिया गएका छन्। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा मन्त्रालयका सचिव राधिका अर्यालसहितको टोलीले मन्त्री खरेललाई बिदाइ गरेको थियो।
सञ्चारमन्त्री खरेल यही कात्तिक २९ गते (नोभेम्बर १५) स्वदेश फर्कने कार्यक्रम रहेको मन्त्रालयले जनाएको छ।
प्रतिक्रिया