झापा पुगेर पूर्वराष्ट्रपतिले भनिन्,'दिगो आर्थिक समृद्धि हासिल गर्नु अबको साझा गन्तव्य'

शनिबार, २४ जेठ २०८२

झापा : पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले जनताको जीवनस्तरमा प्रत्यक्ष अनुभूत हुने गरी दिगो आर्थिक समृद्धि हासिल गर्नु अहिलेको साझा गन्तव्य हुनुपर्ने धारणा व्यक्त गरेकी छन्।

नेपाल कम्युनिष्ट पार्टी ९एमाले० कोशी प्रदेश विज्ञान तथा प्रविधि विभागद्वारा विर्तामोडमा आयोजित प्रदेशस्तरीय विज्ञान तथा प्रविधि प्रदर्शनीको उद्घाटन गर्दै भण्डारीले यस्तो धारणा राखेकी हुन्।

'अबको हाम्रो मूल उद्देश्य भनेको समाजवादउन्मुख अर्थतन्त्र निर्माण गर्दै जनताको जीवनमा सकारात्मक परिवर्तन ल्याउनु हो,' पूर्वराष्ट्रपति भण्डारीले भनिन्, 'समृद्ध नेपाल, सुखी नेपाली भन्ने राष्ट्रिय लक्ष्य तब मात्र सम्भव छ, जब हामीले विज्ञान र प्रविधिको उचित उपयोग गर्न सक्यौं।'

उनले शिक्षा प्रणालीलाई अनुसन्धान, प्रयोग, आविष्कार र प्रविधिमार्फत राष्ट्र निर्माणमा योगदान दिने जनशक्ति उत्पादन गर्ने दिशामा लैजानुपर्नेमा जोड दिइन्।

तीन दिनसम्म सञ्चालन हुने यो प्रदर्शनी विर्तामोडस्थित देवी माध्यमिक विद्यालयको परिसरमा भइरहेको छ। प्रदर्शनीमा कोशी प्रदेशका १२ जिल्लाका ७० भन्दा बढी विद्यालयका विद्यार्थीहरूले तयार पारेका वैज्ञानिक प्रयोग सामग्री प्रदर्शनमा राखिएका छन्।

प्रदर्शनीमा उत्कृष्ट स्थान प्राप्त गर्ने विद्यालयलाई नगद पुरस्कार प्रदान गरिने आयोजक प्रदेश विज्ञान तथा प्रविधि विभागका प्रमुख गणेश पोखरेलले जानकारी दिए। उनका अनुसार प्रथम हुने विद्यालयलाई रु ४ लाख, द्वितीयलाई रु ३ लाख, तृतीयलाई रु २ लाख र सान्त्वना पुरस्कार स्वरूप रु १ लाख प्रदान गरिनेछ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार