गगनको कोशी मोहः रणनीति बुन्न कि जिम्मेवारी पूरा गर्न?

आइतबार, २५ जेठ २०८२

इटहरी : नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापा पछिल्लो समय कोशी प्रदेशतर्फ अस्वाभाविक रूपमा सक्रिय देखिन थालेका छन् । गत जेष्ठ १४ गते मात्रै धरानमा सम्पन्न नेपाली कांग्रेस नगर सम्मेलनमा सहभागी भएपछि दस दिन नपुग्दै उनी पुनः धरान आइपुगे । नेपाल लोकतन्त्रवादी याक्थुङ लिम्बू संघको प्रथम महाधिवेशनलाई सम्बोधन गर्न शुक्रवार थापा धरान पुगेका हुन् ।

थापाको कोशी मोह यति बेला कांग्रेस भित्र नयाँ राजनीतिक समीकरणका सङ्केतका रूपमा हेरिन थालेको छ । केवल धरान मात्रै होइन, उनले सुनसरीसँगै मोरङ, झापा, इलाम, धनकुटा, भोजपुरलगायत जिल्लाहरूमा समेत कार्यकर्तासँगको भेटघाटलाई तीव्र बनाएका हुन् ।

कोशीमा गगनको बढ्दो सक्रियता
पार्टीभित्रका स्रोतहरूका अनुसार गगन थापाले कोशी प्रदेशलाई आगामी १५औँ महाधिवेशन लक्षित रणनीतिक अभियानको थालनी स्थल बनाएका छन् । कोशी प्रदेश त्यो भूगोल हो, जहाँ १४औँ महाधिवेशनमा सभापति पदका प्रत्याशी कांग्रेस नेता डा.शेखर कोइरालाको बलियो प्रभावका साथै उनको गृह प्रदेश समेत हो । 

शेखर समूहमै रहेर महामन्त्री जितेका थापाको हालको सक्रियता र कार्यकर्ता संवादले उनी शेखर कोइरालालाई नै चुनौती दिन उभिन चाहेका छन् भन्ने चर्चा कांग्रेस वृत्तमा तातिएको छ । एक कांग्रेस स्रोतको भनाइमा, “गगनको कार्यकर्ता भेटघाट र दौडधुप यसतर्फ सङ्केत गर्छ कि उनले शेखर कोइरालालाई कोशीमै चुनौती दिन चाहेका छन् ।” यसको अर्थ गगन आफैँ सभापति उठ्न चाहन्छन् र १५ औँ महाधिवेशनमा सभापति उठ्ने उद्घोष गरिसकेका डा.शेखरलाई नै चुनौती दिन चाहन्छन् ।

महामन्त्रीको हैसियत र नेतृत्वको सम्भावना
नेपाली कांग्रेसका केन्द्रीय सदस्य मीन विश्वकर्माका अनुसार, गगन थापा पार्टीको प्रभावशाली महामन्त्री मात्रै होइनन्, जनस्तरमा व्यापक लोकप्रियता बटुल्न सफल नेता पनि हुन् ।

उहाँ जुनसुकै कार्यक्रममा जानुहोस्, गगनजीप्रति समर्थन स्वतः देखिन्छ । उहाँ सभापतिको सम्भावित उम्मेदवार पनि हो भन्न थालिएको छ

विश्वकर्माले टिप्पणी गरे ।

यसै सन्दर्भमा थापा निकट श्रोतहरूका अनुसार उनी सोमबार र शुक्रवार फेरि इटहरी आउन लागेका छन् । यसले कोशी प्रदेशमा आफ्नो पकड बलियो बनाउन लागिपरेको सङ्केत गर्छ । कांग्रेस श्रोतका अनुसार गगन समूह बनिसक्दा देउवा र शेखर समूहकै नेता कार्यकर्ता सो समूहमा बाँडिएका छन् । 

रणनीति कि जिम्मेवारी ?
तर आफैँ भने गगन थापा आफ्नो दौडधुप रणनीतिक नभई पार्टी महामन्त्रीको हैसियतमा जिम्मेवारी पुरा गर्ने अभियान भएको दाबी गर्छन् । शुक्रवार विराटनगर विमानस्थलमा सञ्चारकर्मीहरूसँग संक्षिप्त कुराकानी गर्दै थापाले भने, “म महामन्त्रीको जिम्मेवारी पूरा गर्दैछु, महाधिवेशनबारे अहिले बोल्ने बेला होइन ।”

तर उनको यो निरन्तर भेटघाट र सक्रियता हेर्दा, अबको महाधिवेशनको लागि थापाले रणनीति बुन्न थालिसकेका छन् भन्ने सन्देश स्पष्ट देखिन थालेको छ ।
 

प्रतिक्रिया

खेमराज सापकाेटा
लेखकको बारेमा
खेमराज सापकाेटा

सहायक समाचार सम्पादनको भूमिकामा रहेका सापकोटा समसामयिक विषयमा कलम चलाउँछन् ।

सम्बन्धित समाचार