झापा : ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्री दीपक खड्काले झापाको कनकाई नदीमा निर्माणाधीन तटबन्ध कार्यमा तीव्रता दिन निर्देशन दिएका छन्। तटबन्ध पुनर्निर्माणको स्थलगत निरीक्षण गर्दै उनले ढिलाइ भएमा बाढीले झन्डै १०५ घरधुरी विस्थापित हुने खतरा रहेको बताएका हुन्।
गत वर्ष असोज १०, ११ र १२ गतेको अविरल वर्षाले कनकाई नदीमा आएको बाढीका कारण हुलाकी राजमार्ग नजिकको करिब ७ सय मिटर तटबन्धमा गम्भीर क्षति पुगेको थियो। अहिलेसम्म सो क्षेत्रको पुनर्निर्माण पूर्ण रूपमा सम्पन्न नभएकोले नदीकटानको उच्च जोखिम कायमै रहेको छ। यसले बस्ती, खेतीपाती, पशुपालन र स्थानीयको सम्पूर्ण जीविकोपार्जनमा प्रतिकूल असर पार्ने चिन्ता व्यक्त गरिएको छ।
“ठेक्का प्रक्रिया होस् वा विपद् व्यवस्थापन बजेट, जुनसुकै उपाय अपनाएर भए पनि तटबन्ध पुनर्निर्माण कार्य समयमा सम्पन्न गरिनुपर्छ,” मन्त्री खड्काले भने। उनले समयमै कार्य सम्पन्न गर्न निर्देशन दिँदै आवश्यक बजेट अभाव हुन नदिने प्रतिबद्धता समेत जनाए।
स्थानीयवासीहरू पनि तटबन्ध पुनर्निर्माणमा भइरहेको ढिलाइप्रति असन्तुष्टि जनाउँदै आएका छन्। नदी नियन्त्रणका काममा शीघ्रता नआए आगामी वर्षात्मा अझ गम्भीर विपद् निम्तिन सक्ने चेतावनी उनीहरूले दिएका छन्।
प्रतिक्रिया