रमा सिंहको आक्रोश : “राजवादी आन्दोलन आन्तरिक कलहकै कारण तुहियो”

आइतबार, २५ जेठ २०८२

काठमाडौँ : राजतन्त्र पुनः स्थापनाको पक्षमा गरिएको हालैको आन्दोलनप्रति लामो समयदेखि सक्रिय रहिएकी रमा सिंहले तीव्र असन्तुष्टि प्रकट गरेकी छिन्।

उनले सामाजिक सञ्जालमार्फत आन्दोलन भित्रको अव्यवस्था, गुटबन्दी, पद बाँडफाँडको होड, र रणनीतिक चेतना कमीका कारण आन्दोलन प्रभावहीन बनेको आरोप लगाएकी छिन्।

उनका अनुसार संयुक्त जनआन्दोलन परिचालन समिति नाम दिइएको भए पनि समितिका सदस्यहरूलाई कार्यक्रम र रणनीति बारे कुनै जानकारी दिइएन। जेठ १५ गते आन्दोलन सुरु गर्ने निर्णय एकल रूपमा गरिएको थियो, जसको जानकारी धेरै सदस्यहरूले सामाजिक सञ्जालबाट मात्र पाए।

सिंहले पहिलो बैठकदेखि नै समितिको कामकाज अस्तव्यस्त ढङ्गले अगाडि बढेको भन्दै, विभिन्न जिल्लाका र नबिकिएला तर अनुभवसंपन्न व्यक्तिहरूलाई जिम्मेवारी नदिएको र जातीय, क्षेत्रीय तथा वर्गीय समावेशीताक अभाव रहेको गुनासो गरेकी छिन्। आन्दोलनको नेतृत्व तहले आन्दोलनभन्दा पद बाँडफाँडमा रुचि देखाएको उनको आरोप छ।

उनले भनेकी छन्, “गुनासो गर्न गएकाहरूलाई पद थमाएर चुप लगाउने प्रवृत्ति चलेको छ। आन्दोलनभन्दा व्यक्तिको ‘सेटिस्फ्याक्सन’ (सन्तुष्टि) प्राथमिकतामा परेको छ।”

सिंहको थप आरोप छ कि समितिका बैठकहरूमा सरकारी जासुसीहरू खुलेआम सहभागी हुन्थे तर कसैलाई चासो हुन्नथ्यो। युवाहरू र जिल्ला स्तरका प्रतिनिधिहरूलाई नजरअन्दाज गरिनु, एकै व्यक्ति समूहको हाबीपन, तथा चर्का भाषणमा मात्रै केन्द्रित रहनुले आन्दोलनको प्रभाव घटाएको बताइन्।

प्रवक्ताको अस्पष्ट भूमिकाबारे पनि उनले प्रश्न उठाउँदै भनिन्, “एकातिर प्रवक्ता, अर्कोतिर तीनतिरबाट विज्ञप्ति आउनेजस्ता घटनाले स्वतःस्फूर्त सहभागितामा भ्रम फैलायो र आन्दोलन पार्टीको कार्यक्रमजस्तै लाग्न थाल्यो।”

उनले जनआन्दोलन सरकारविरुद्धको भएको भए पनि सरकारले अनुमति दिएका स्थानहरूमा रमाउँदै हिँड्ने शैलीले जनताको विश्वास घटाएको जनाएकी छिन्।

सिंहले आर्थिक पक्षले पनि आन्दोलनलाई विवादित बनाएको बताउँदै, आन्दोलनका क्रममा राजाको नयाँ पुस्ता अगाडि ल्याउने चर्चा चलेको भए पनि नेतृत्व तहमा पुरानै अनुहारहरू हाबी रहेकोमा खेद प्रकट गरेकी छिन्।

उनले लेखेकी छिन्, “अब विद्रोहको जिम्मा नयाँ पुस्तालाई दिनुपर्छ भन्ने चेतना युवाहरूमा जागिसकेको छ।”

अन्त्यमा उनले लेखेकी छिन्, “जे जस्तो भए पनि अब युवा पुस्ता जागेको छ, ती युवाले व्यवस्था परिवर्तन गरेरै छाड्छन्।”

यो अभिव्यक्तिले राजावादी आन्दोलनभित्रको गहिरो असन्तोष र आन्तरिक सङ्घर्षलाई उजागर गरेको छ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार