इलाममा निर्माण सम्पन्न नहुँदै कालोपत्रे सडकमा खाल्डै खाल्डा

सोमबार, २३ भदौ २०८२

इलाम । पश्चिमी इलामको गाग्रेभञ्ज्याङ्ग जीतपुर हुँदै बेलासे जोड्ने सडक निर्माण सम्पन्न नहुँदै खाल्डाखुल्डी हुँदा स्थानीय सर्वसाधारण आवतजावतमा ठूलो कठिनाइ भोगिरहेका छन्। करिब ३९ करोड रुपैयाँ लागतमा सुरु गरिएको यो सडकको करिब चार किलोमिटर खण्ड एक वर्षमै जीर्ण बनेपछि प्रदेश सरकारको पूर्वाधार निर्माणप्रति गम्भीर प्रश्न उठेको छ।

६ वर्ष अगाडि निर्माण सुरु भएको सडक निर्माणको अवस्थाले सर्वसाधारण आजित भएका छन्। प्रदेश सरकारको लगानीमा सुरु भएको यो सडक खण्डको गाग्रेभञ्ज्याङ देखि जीतपुरे बजार सम्मको सडक काम नलाग्ने गरी बिग्रिएको छ। ढिलो गरेर निर्माण गरिएको सडक क्षत विक्षत भएपछि स्थानीय पनि आक्रोशित छन्। जीतपुरे बजारका राम घिसिङले सडक निर्माणमा ठेकेदार र सम्बन्धित निकाय जिम्मेवार नभएको बताए।

कोसी प्रदेश सरकारका आर्थिक मामिला तथा योजना मन्त्री राम बहादुर रानाको घर छेउदेखि सुरु भएको यो सडकले प्रदेश सभा सदस्य गोविन्द गिरिको घर पनि जोड्दछ। आफ्नो घर गाउँमा निर्माण भएको सडकको अवस्थाबारे दुबै जना बेखबर रहेका छन्। निर्माण सकिएको नेपालटार मङ्गलवारे सडकको हालतले आजित बनेका पश्चिमी इलामका बासिन्दा यो सडक चाँडो बन्ने भरोसामा थिए। तर बनेको वैकल्पिक सडक पनि यस्तो भएपछि आवत जावतमा ठुलो कठिनाइ भोग्नुपरेको स्थानीय कोपिला थापा बताउँछिन्।

पूर्वाधार विकास कार्यालय भद्रपुर झापाले २०७६ कार्तिकमा यो सडक निर्माणका लागि ठेकेदार प्यासिफिक ई लाइट जेभीसँग सम्झौता गरेको थियो। गाग्रेभञ्ज्याङ्ग जीतपुर बेलासे सडक भनेर ठेक्का सम्झौता भए पनि यो सडक गाग्रेभञ्ज्याङ, जीतपुरे, नवमी, पञ्चमी हुँदै नामथला, सोयाक सम्म निर्माण हुने भएको छ। साढे २२ किलोमिटर सडक कालोपत्रे गर्ने काम हालसम्म गाग्रेभञ्ज्याङ्गदेखि जीतपुर नवमी सम्म निर्माण भएको छ। बाँकी सोयाक देखि बेलासे सडक निर्माणमा पनि प्रदेशले कुनै चासो नदेखाएका कारण यो सडकको यात्रा जोखिम कायमै रहेको छ।

ठेकेदार प्यासिफिक इलाइट जेभीका प्रतिनिधि रवि लम्सालले प्रतिकुल मौसमले सडक निर्माणमा कठिनाइ भएको बताए। उनले गाग्रेभञ्ज्याङ्गदेखि जीतपुरे सम्मको बिग्रिएको सडकमा पनि पुन जोतेर कालोपत्रे गर्ने जानकारी दिए। जीभीएसटी प्रकारको कालोपत्रे गर्दा सबै निर्माण सामग्रीको गुणस्तर मिल्नुपर्ने प्राविधिकहरु बताउँछन्। यस्तो सडक निर्माण पछि जति गाडी गुड्यो त्यति कालो देखिने बताउँछन्। लम्सालले चार किलोमिटर सडक दोहोराएर कालोपत्रे गरिने र बाँकी सडक खण्ड समेत चालु वर्षमा कालोपत्रे गरिसक्ने जानकारी दिए।

पूर्वाधार विकास कार्यालय भद्रपुर झापाका सी डी इ राजेश्वर महतोले उक्त ठेक्काको चार किलोमिटर सडकको पुन निर्माण नहुँदा सम्म ठेकेदारलाई रकम भुक्तानी रोकिएको बताए। उनले ठेकेदारसँग पटक पटक सम्पर्कमा रहेर काम गरेको बताए। तीन वर्ष अगावै निर्माण सक्नुपर्ने सडक ठेक्काको पटक पटक म्याद थप हुँदा पनि आधा निर्माण हुन सकेको छैन।

यता ठेक्का सम्झौता अनुसार निर्माण कार्य सम्पन्न नहुँदै पूर्वाधार विकास कार्यालय भद्रपुर झापाबाट इलाममा जिम्मेवारी हस्तान्तरण भएको छ। प्रदेश सरकारले साबिकको सहरी विकास तथा भवन कार्यालयको नाम परिवर्तन गरी सबै जिल्लामा पूर्वाधार विकास कार्यालय स्थापना गरेको हो।

पूर्वाधार विकास कार्यालय भद्रपुर झापाले भ्याट सहित ३९ करोड ८६ लाखमा गाग्रेभञ्ज्याङ्ग जीतपुर बेलासे सडक निर्माणको सम्झौता गरेको थियो।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार