विराटनगरस्थित कालीमन्दिरको शुभकामना ब्यानर च्यातेपछि तनाव, २ जना पक्राउ

शुक्रबार, १० असोज २०८२

विराटनगर। विराटनगरस्थित कालीमन्दिर क्षेत्रमा साइन हब प्रा.लिका दुई जना कर्मचारीले दशैं–तिहार लगायत चाडपर्वको शुभकामना लेखिएका धार्मिक ब्यानर च्यातिदिएपछि स्थानीय र कम्पनीबीच तनाव उत्पन्न भएको छ।

साइन हब महानगरपालिकाभरि तुल, ब्यानर र विज्ञापनको कर उठाउने ठेक्का पाएको कम्पनी हो। हबले स्वीकृति नलिइकन ब्यानर लगाइएको भन्दै कर्मचारी खटाएर उक्त ब्यानर च्यातेको स्थानीयले बताएका छन्। बिहीबार बेलुका स्थानीय युवाहरुले चाडपर्व लक्षित गर्दै कालीमन्दिरमा दुर्गा र लक्ष्मी भगवानका चित्रसहित ब्यानर र तुल लगाएका थिए। तर शुक्रबार बिहान कम्पनीका कर्मचारीले अचानक ब्यानर च्यात्न थालेपछि विवाद सुरु भएको थियो।

स्थानीयले विरोध स्वरूप खटिएको बोलेरो जिपको चाबी नियन्त्रणमा लिए पनि प्रहरीले समयमै हस्तक्षेप गरी स्थिति नियन्त्रणमा लिएको मोरङ प्रहरी प्रवक्ता डीएसपी कोपिला चुँडालले बताइन्। ‘ब्यानर च्यातिएको विषयमा दुई पक्षबीच विवाद भएको रहेछ। घटना थाहा पाउँदै हामीले नियन्त्रणमा लियौं,’ उनले भनिन्।

उक्त ब्यानरमा दुर्गा र लक्ष्मी भगवानका चित्रहरु थिए । स्थानीय युवाहरुले चाडपर्वलाई लक्षित गरी बिहीबार बेलुका स्वतःस्फूर्त रुपमा कालीमन्दिरमा बत्ती, ब्यानर र भगवानका चित्र अंकित तुल लगाएका थिए । तर, एक्कासि हबका कर्मचारीले च्यातेर हटाउन थालेपछि अवस्था केहीबेर तनावपूर्ण भएको प्रहरीले जनाएको छ । 

हबले भने महानगरकै निर्देशनमा ब्यानर हटाइएको दाबी गर्दै आएको छ । महानगरले नगरक्षेत्रभरिका गेट हटाउन निर्देशन दिएकोले कर्मचारी खटाइएको हबका प्रबन्धक गिरीले बताए । धार्मिक क्षेत्रमा गएर जथाभावी गरेको भन्दै स्थानीयले विरोध गरेका छन् । 

हबका कर्मचारीले बिहीबार मध्यरातमा ट्राफिक चोक क्षेत्रमा दुर्गा पूजा गर्न लगाइएको पण्डाल पनि फालिदिएको स्थानीय बताउँछन् ।

प्रहरीले साइन हबका कर्मचारी विनोद बानिया र द्वारिका रेग्मीलाई नियन्त्रणमा लिएको छ भने हबका प्रबन्धक किरण गिरीसँग पनि घटनाका विषयमा सोधपुछ भइरहेको छ।

स्थानीयले भने कम्पनीले धार्मिक क्षेत्रमा जथाभावी हस्तक्षेप गरेको भन्दै विरोध जनाएका छन्। 

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार