काठमाडौँ : राष्ट्रपति रामचन्द्र पौडेल कतारको दोहामा सम्पन्न दोस्रो विश्व सामाजिक विकास शिखर सम्मेलनमा सहभागी भई बिहीबार स्वदेश फर्किएका छन् । परराष्ट्र मन्त्रालयका सचिव अमृतबहादुर राईका अनुसार राष्ट्रपतिको यो भ्रमण फलदायी रह्यो र यसले अन्तर्राष्ट्रिय मञ्चमा नेपालको उपस्थिति थप सुदृढ बनाएको छ ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अतिविशिष्ट कक्षमा सञ्चारकर्मीलाई जानकारी दिँदै सचिव राईले भ्रमणले नेपालजस्ता विकासोन्मुख राष्ट्रहरूको हितमा आवाज बुलन्द गर्न महत्वपूर्ण योगदान पुर्याएको बताए ।
सम्मेलनको मुख्य सत्रलाई सम्बोधन गर्दै राष्ट्रपति पौडेलले सामाजिक न्याय, समावेशिता र दिगो विकासप्रति नेपालको दृढ प्रतिबद्धता व्यक्त गरे । उने गुणस्तरीय शिक्षा, सबैका लागि स्वास्थ्य सेवा, महिला तथा युवा सशक्तीकरणका लागि विश्व समुदायबीच थप सहकार्य र हातेमालो गर्न आह्वान गरेका छन् ।
राष्ट्रपति पौडेल कतारका अमीर महामहिम शेख तमिम बिन हमाद अल–थानीको मैत्रीपूर्ण निमन्त्रणामा कात्तिक १८ देखि २० गतेसम्म दोहामा आयोजित उक्त सम्मेलनमा सहभागी हुन कात्तिक १७ गते काठमाडौँबाट प्रस्थान गरेका थिए ।
राष्ट्रपति रामचन्द्र पौडेल कतारको राजधानी दोहामा यही कात्तिक १८ देखि २० गतेसम्म आयोजना भएको ‘सामाजिक विकासका लागि दोस्रो विश्व शिखर सम्मेलन’मा भाग लिई स्वदेश फकिने क्रममा बिहीबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीलाई जानकारी दिदै परराष्ट्र मन्त्रालयका सचिव अमृतबहादुर राई । तस्बिरः किरणराज विष्ट-रासस
भ्रमणका क्रममा उनले “सामाजिक विकासका तीन स्तम्भको सुदृढीकरणः गरिबी निवारण, उत्पादनशील रोजगारी र सामाजिक समावेशीकरण” विषयक उच्चस्तरीय गोलमेच सम्मेलनलाई सम्बोधन गरे । सम्बोधनमा राष्ट्रपति पौडेलले दिगो र मानव–केन्द्रित सामाजिक विकासका लागि सुदृढ लोकतन्त्र, समावेशी नीति, जवाफदेही संस्था र पारदर्शी सार्वजनिक सेवा आवश्यक रहेकोमा जोड दिए ।
भ्रमणका क्रममा राष्ट्रपति पौडेल र संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसबीच शिष्टाचार भेटवार्ता पनि भएको थियो । भेटमा राष्ट्रपति पौडेलले नेपालले नगण्य कार्बन उत्सर्जन गरे पनि जलवायु परिवर्तनका गम्भीर असर व्यहोर्नु परेको बताउँदै ती असर न्यूनीकरणका लागि अन्तर्राष्ट्रिय सहयोग बढाउन आग्रह गरे । सो अवसरमा नेपाल–संयुक्त राष्ट्र सम्बन्ध सुदृढीकरणका विषयमा पनि विचार–विमर्श भएको सचिव राईले जानकारी दिएका छन् ।
महासचिव गुटेरेसले नेपालको लोकतान्त्रिक संस्थाहरू समस्याको समाधान गर्न सक्षम रहेको बताउँदै जलवायु परिवर्तनको प्रभावमा परेका मुलुकहरूलाई अनुकूलनका लागि सहयोग जुटाउने प्रतिबद्धता जनाएका थिए । साथै उनले नेपालले संयुक्त राष्ट्र शान्ति मिसनमार्फत विश्व शान्ति र सुरक्षामा पु–याएको योगदानको प्रशंसा पनि गरे ।
राष्ट्रपति पौडेलले कतारका अमीर शेख तमिम बिन हमाद अल–थानीले आयोजना गरेको दिवाभोजमा सहभागी हुनुका साथै दोहास्थित नेपाली राजदूतावास र नेपाली समुदायका प्रतिनिधिसँग भेटघाट गरे।
प्रतिक्रिया